काठमाडौं । चर्चित बलिउड अभिनेता प्रदीप रावतको निधन भएको छ ।
सिनेमा गजनीमा खलनायक ‘गजनी धर्मात्मा’को भूमिकाबाट परिचित वरिष्ठ भारतीय अभिनेता रावतको क्यान्सर रोगका कारण निधन भएको भारतीय सञ्चारमाध्यमहरूले पुष्टि गरेका छन् ।
लामो समयदेखि क्यान्सरसँग संघर्ष गरिरहेका रावतको मंगलबार साँझ मुम्बईस्थित अस्पतालमा उपचारका क्रममा ७४ वर्षको उमेरमा निधन भएको हो ।
लगान फिल्ममा सहकार्य गरेका अभिनेता येशपाल शर्माले सामाजिक सञ्जालमा ‘हाम्रा गजनी देवा प्रदीप रावतप्रति हार्दिक श्रद्धाञ्जली’ लेख्दै दुःख व्यक्त गरेका छन् । अभिनेता गजेन्द्र चौहानले पनि रावतलाई श्रद्धाञ्जली अर्पण गर्दै महाभारतमा उनले निर्वाह गरेको अश्वत्थामाको भूमिकाको स्मरण गरेका छन् ।
भारतीय फिल्म उद्योगमा सशक्त खलनायकका रूपमा परिचित रावतले हिन्दी, तेलुगु र तमिल भाषाका चलचित्रमा अभिनय गरेका थिए । उनले पल शाह र बिपना थापा अभिनित नेपाली सिनेमामा समेत अभिनय गरेका थिए ।