बराहक्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा छोराको मृत्यु, बाबु घाइते

न्युजलय १३ जेठ २०८१, आइतबार ११:५२ मा प्रकाशित

इटहरी । सुनसरीको बराहक्षेत्र–२ स्थित करमखोला पुल नजिकै भित्री सडकखण्डमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा छोराको मृत्यु भएको छ भने बाबु घाइते भएका छन् ।

तेह्रहड्डीबाट चतरातर्फ जाँदै गरेको को २८ प ४७५८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार ७ वर्षीय अनुभव बस्नेतको मृत्यु भएको हो ।

मोटरसाइकल चालक स्थानीय ३५ वर्षीय पुष्प बस्नेत घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकलमा पछाडि सवार उनका छोरा अनुभवको भने उपचारको क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।