साउन २३ गतेदेखि आइपिओ बिक्री गर्दै रिलायबल नेपाल लाइफ इन्स्योरेन्स

न्युजलय १५ साउन २०८०, सोमबार ०६:०८ मा प्रकाशित

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले साउन २३ गतेदेखि प्रिमियममा आइपिओ निष्कासन गर्ने भएको छ। 

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्न लागेको हो।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर कुल २५७ रुपैयाँमा सेयर निष्कासन गर्न लागेको हो।

कम्पनीले जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो। 

सोमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।

त्यसैगरी, कुल सेयरको ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयर सामूहिक लगानी कोष र ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ। 

बाँकी रहेको ९६ लाख कित्ता सेयरका लागि सर्वसाधारण लगानीकर्ताहरूले आवेदन दिन सक्नेछन्।

उक्त सेयरमा साउन २६ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिभित्र सम्पूर्ण कित्ताका लागि आवेदन नपरेमा निष्कासन अवधि भदौ ५ गतेसम्म लम्बिनेछ।