पाकिस्तान जिम्बाब्वेसँग १ रनले पराजित

न्युजलय ११ कार्तिक २०७९, शुक्रबार १२:४६ मा प्रकाशित

एजेन्सी । पाकिस्तान जिम्बाब्वेसँग १ रनले पराजित बनेको छ । टी–२० विश्वकप क्रिकेटमा खेलअन्तर्गतको बिहीबार सम्पन्न खेलमा जिम्बाब्वेले पाकिस्तानमाथि १ रनको रोमाञ्चक जित निकालेको हो। 

टस  जितेर पहिलो ब्याटिङ गरेको जिम्बाब्वेले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३० रनको सामान्य स्कोर बनाएको थियो। जवाफमा पाकिस्तान अन्तिम दुई बलमा लगातार दुई विकेट गुमाउन पुगेपछि पाकिस्तान १ रनले पराजित भयो।

१३० रनको सामान्य लक्ष्य पछ्याएको पाकिस्तानले सान मसुदले ४४ रन बनाउँदै टिमलाई जित उन्मुख बनाएपनि पछिल्लो क्रमले खराब प्रदर्शन गरेपछि पाकिस्तान दबाबमा परेको थियो। 

अन्तिम ३ बलमा ३ रन चाहिएको अवस्थामा जिम्बाब्वेका बलर ब्राड इभान्सले एक बल डट फाल्दै अन्तिम दुई बलमा दुई विकेट लिएपछि पाकिस्तान १ रनले पराजित भयो । अन्तिमा बलमा २ रनका लागि दौडिंदा पाकिस्तान १ रन मात्र जोड्न पुग्दा जिम्बाब्वेले रोमञ्चक जित निकाल्यो। 

पाकिस्तान पराजित भएसँगे शीर्ष चारको सम्भावना कमजोर बनेको छ। जिम्बाब्वे भने पहिलो जितले उत्साहित बनेको छ। पाकिस्तान यसअघि पहिलो खेलमा भारतसँग पराजित भएको थियो। जिम्बाब्वेले दक्षिण अफ्रिकासँग वर्षाका कारण अंक बाँडेको थियो।