विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज भएको पहिलो खेलमा पोखरा एभेन्जर्स विजयी भएको छ । सुपरओभरमा विराटनगर किंग्सलाई हराउँदै पोखरा विजयी भएको हो ।
दुवै टोलीले सुरूमा बराबरी खेलेपछि खेल सुपरओभरमा गएको थियो । एनपीएलमा पहिलो पटक सुपरओभरबाट नतिजा टुंगिएको हो । सुपरओभरमा सुरूमा ब्याटिङ गरेको पोखराले १८ रन बनाएको थियो ।
रेमन रिफरले १७ तथा आन्द्रेस गसले १ रन बनाएका थिए । जवाफी ब्याटिङमा उत्रिएको विराटनगरले सुपरओभरमा पाँच रन मात्र बनायो । मार्टिन गप्टिल र निकोलस क्रिटोन दुवैले दुई रन मात्र बनाए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १३९ रन बनाएको थियो ।