एनजी ल्याउने सामुदायिकका विद्यार्थीहरुलाई जनताले निःशुल्क कोचिङ दिने

न्युजलय २० असार २०८१, बिहिबार १०:०२ मा प्रकाशित

इटहरी । जनता स्कुलले सामुदायिक विद्यालयबाट एसइइ परिक्षाका विभिन्न विषयहरुमा एनजी प्राप्त गरेका विद्यार्थीहरुलाई निःशुल्क कोचिङ पढाउने भएको छ । पुरक परिक्षाको तयारीका लागि कोचिङ पढाउने भएको हो ।


जुनसुकै सामुदायिक विद्यालयका विद्यार्थीहरुले एनजी ल्याएको भए जनता माविको निःशुल्क कोचिङमा सहभागि हुन सक्ने व्यवस्थापन समिति अध्यक्ष काशीनाथ दंगालले बताए । 


सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्नका लागि सामाजिक दायित्वअन्तर्गत विद्यालयले यस्तो कार्यक्रम अघि बढाएको हो । यसअन्तर्गत विज्ञान, गणित, ऐच्छिक गणित र ऐच्छिक अर्थशास्त्र विषयमा कोचिङ कक्षा सञ्चालन गरिने प्रिन्सिपल पशुपति सिग्देलले जानकारी दिए ।


यसपटक जनता माविले भने कोशी प्रदेशमै एसइइमा उत्कृष्ठ नतिजा ल्याएको दावी गरेको छ । 

स्कुलका सहभागि विद्यार्थीमध्ये १४४ जनाले ३.२१–४ जीपीए प्राप्त गरेका छन् भने ४२ जनाले ३.६१–४ जीपीए र १२२ जनाले ३.२१–३.६ जीपीए ल्याएको छ ।


कक्षा ११ को लागि भर्ना खोलेको विद्यालयले यो वर्ष कक्षा ११ मा एक हजार विद्यार्थी भर्ना लिने गरी तयारी पुरा गरेको छ । विद्यालयले यो वर्षदेखि ९ कोठाको सुविधासम्पन्न साइन्स ल्याब सञ्चालनमा ल्याउँदैछ । कम्प्युटर ल्याब, लाइब्रेरीहरु यसअघि नै सञ्चालनमा आइसकेको छ । विद्यालयमा शिक्षा, मानवीकी, कम्प्युटर साइन्ससहितको व्यवस्थापन, विज्ञान र कानुन विषय पढाइ हुन्छ ।


पुर्वाधार विकाससँगै शिक्षाको गुणस्तरमा ध्यान दिएको जनता माविमा विद्यार्थीहरुको आकर्षण बढ्दो छ । यो वर्ष पनि कक्षा ११ मा भर्ना हुन आउने विद्यार्थीहरुको संख्या उत्साहजनक रहेको विद्यालयले जनाएको छ ।