तालतलैयालाई जीवन दिने लिम्बुको असामयिक निधन

न्युजलय २८ चैत २०८०, बुधबार ०७:४३ मा प्रकाशित

इटहरी । इटहरीस्थित तालतलैयालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न महत्वपूर्ण भूमिका खेलेका इटहरीका राजनीतिज्ञ बीरबहादुर लिम्बुको असामयिक निधन भएको छ । 


बुधबार साँझ विराटनगरस्थित विराट टिचिङ अस्पतालमा उनको ६९ वर्षको उमेरमा निधन भएको हो । हर्ट अट्याक भएपछि उनलाई अस्पताल पुर्याइएकोमा त्यहीँ निधन भएको वडा नं. २ का वडाध्यक्ष माधव कोइरालाले जानकारी दिए ।


‘ल्याउँदासम्म होसहवासमै हुनुहुन्थ्यो, तर उपचारको सिलसिलामा निधन भयो,’ उनले भने ।

 

लिम्बु तालतलैया विकास समितिको दुई कार्यकाल अध्यक्ष बनेका थिए । उनकै कुशल नेतृत्वका कारण उनको कार्यकालमा तालतलैयाभित्र निर्माण र व्यवस्थापनका कामहरु तीव्र भएको थियो । उनले ताललतैया वरीपरी रेल चलाउनेसमेत योजना बनाएका थिए । 


उनी तरहरास्थित शान्ती जनकल्याण सहकारीको अध्यक्ष थिए भने इटहरी खानेपानीमा वडा नं. २ बाट दोस्रो पटकका लागि परिषद् सदस्यमा अघिल्लो दिन मात्र निर्वाचित बनेका थिए ।

पुर्व शिक्षक लिम्बुले नागरिक समाजलगायत धेरै संघसंस्थामा सक्रिय भुमिका निभाएका थिए भने उनी नेकपा एमालेको सुनसरी जिल्ला सदस्य हुन् ।