काठमाण्डौ । माइक्रो ब्लगिङ साइट ट्विटरको चराको लोगो भएको मूर्ति एक लाख डलरमा बिक्री भएको छ।
अमेरिकाको सान फान्सिस्कोस्थित ट्विटरको मुख्यालयका सयौँ सामग्री लिलामीमा राखिएको थियो। जसमा चरा आकारको चर्चित मूर्ति सबैभन्दा बढी रकम एक लाख डलरमा बिक्री भएको हो।
लिलामीको जिम्मा पाएको हेरिटेज ग्लोबल पार्टनरले लिलामीको अन्तिम नतिजा सार्वजनिक गरेको छैन। तर धेरै सामग्रीको रकमबारे जानकारी लिएको बीबीसीको दाबी छ।
ट्विटरका कतिपय सामग्री खुद्रा किन्दाभन्दा पनि बढी मूल्यमा लिलामीमा राखिएको अनलाइनमार्फत हेरिरहेका दर्शकले बताएको बीबीसीले उल्लेख गरेको छ
गत वर्ष ४४ अर्ब डलरमा ट्विटर खरिद गरी नयाँ मालिक बनेका एलन मस्कले ट्विटरमा खर्च कटौती गर्न भन्दै ती सामग्री लिलामीमा राखेको बताइएको छ।
उनले अक्टोबरयता ट्विटरका ७ हजार ५०० कर्मचारी कटौती गरिसकेका छन्। यति मात्र होइन, मस्कले ट्विटरका कर्मचारीले पाउने निःशुल्क खानाको सुविधासमेत हटाएका छन्।