काठमाण्डौ । जिल्ला प्रहरी परिसर काठमाडौंले कमेडियन अपूर्वक्षितिज सिंहको अनुसन्धान सकेर प्रतिवेदन बुझाउने तयारी गरेको छ।
परिसरले मंगलबार अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमार्फत जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाउने तयारी गरेको हो।
नेवा समुदायमाथि लक्षित गर्दै स्ट्यान्ड अप कमेडी गरेको भिडिओ सार्वजनिक भएपछि अभियन्ताहरूले अपूर्वविरूद्ध परिसरमा जाहेरी दिएका थिए।
अभियन्ताहरूले उनीविरूद्ध चार वटा शीर्षकमा जाहेरी दिएका थिए। जाहेरी दिएपछि उनी भदौ १२ गते पक्राउ परेका थिए। परिसरले सुरूमा उनीविरूद्ध एउटा शीर्षकमा म्याद थप गरेको थियो।
कमेडियन अपूर्वले नेवा समुदायको भाषा, खाना, संस्कृतिमाथि व्यंग्य गरेको आरोप छ। उनले यसरी व्यंग्य गर्दा नेवा समुदायका केही व्यक्तिहरूले आपत्ति जनाएपछि उनले माफी समेत मागेका थिए।
उनले आफ्नो फेसबुकमार्फत माफी मागेका थिए। तर पनि उनलाई कारबाही हुनुपर्ने माग गर्दै अभियन्ताहरूले उनीविरूद्ध जाहेरी दिएका थिए।
सुरूमा अभियन्ताहरूले नै उनलाई हिरासतमा पठाएपनि गत आइतबार भने उनलाई कारबाही गर्न पुगेको बताउँदै सहमति गरेका थिए। दुबै पक्ष परिसर पुगेर अपूर्वले गरेको गल्तीलाई क्षमा गरेको र अब हिरासतबाट छाडिदिन आग्रह गरेका थिए।
अभियन्ताहरूले यसको लागि क्षमापत्र समेत तयार गरेका थिए। यसरी क्षमा गरी छुटाउन माग गरेपछि उनी सोमबार नै छुट्ने आँकलन गरिएको थियो। तर धेरै शीर्षकमा जाहेरी आएको र अनुसन्धानको फाइल तयार भइनसकेको भन्दै अपूर्व हिरासतबाट छुटेनन्।
कमेडियन सिंहले कुनै समय गरेको स्ट्यान्डअपको भिडिओ भदौ १० गते कमेडी क्याफे नामको युट्युब च्यानलमा हालिएको थियो। उक्त भिडिओमा उनले ‘नेवारको परम्परा’ शीर्षकमा व्यंग्य गरेका थिए।