"रास्वपामा आफ्ना, भ्रष्ट र ठगलाई छान्ने प्रवृत्ती देखियो" : खोटाङ प्रचार प्रसार विभाग प्रमुख दाहाल

न्युजलय २९ साउन २०८१, मङ्गलबार ०८:५६ मा प्रकाशित

खोटाङ । राष्ट्रिय स्वतन्त्र पार्टी खोटाङका प्रचार प्रसार विभाग प्रमुख तथा खोटाङ काठमाडौँ सम्पर्क विभागका सदस्य सन्तोषकुमार दाहालले पार्टीबाट राजिनामा दिएका छन् । उनले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट राजिनामा दिएका हुन् ।


उनले पार्टीभित्र गलत प्रवृत्ती मौलाएको भन्दै राजिनामा दिएका छन् । दाहालले राजिनामा पत्रमा भनेका छन्, “राष्ट्रिय स्वतन्त्र पार्टीको जान्नेलाई छान्ने भन्ने नाराबाट प्रभावित भएर यस पार्टीको सदस्यता लिएको थिएँ । पार्टीमा रही काम गर्ने क्रममा जान्नेलाई छान्ने भन्दा पनि व्यवहारमा चाहीँ आफ्ना, भ्रष्ट र ठगहरुलाई छान्ने रहेको स्पष्ट देखियो । त्यसकारण पार्टीका नाममा भ्रष्ट, ठग र कुनियत भएका अवसरवादी व्यक्तिहरुलाई समर्थन गरी काम गर्न नसक्ने भएकाले स्वईच्छाले राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको कुरा सम्पूर्णमा जानकारी गराउँदछु ।”


दाहालले पार्टी कारवाहीमा परेका खोटाङ जिल्ला संयोजक रविन्द्र ओझालाई पछि कारण थाहै नदिइ कारवाही फुकुवा गर्ने र उपल्लो तहका नेतासँग जवाफ माग्दा जवाफ नपाएको गुनासो गरे । कार्वाहीमा परेका व्यक्तिलाई काखी च्यापेर अगाडि बढ्न थालेकाले वितृष्णा बढेको उनले बताएका छन् ।

 

पछिल्लो समय राननीतिका नाममा भ्रष्टाचार, अनियमिता जस्ता कुराहरु मौलाउँदै गएको र अधिकांश नेता तथा कार्यकर्ताहरु देश र जनताको सेवाका लागि भन्दा पनि व्यक्तिगत स्वार्थ लिएर पद र कुर्सी मोहमा दौडिएकाले राजनीतिको गलत परिभाषा सृजना हुँदै गएकोप्रति उनले चिन्ता व्यक्त गरेका छन् । दाहाल काठमाडौमा रहेर पत्रकारिता र कलाकारितामा सक्रिय छन् ।