इटहरीमा भैँसी प्रतियोगिता - चन्द्रबहादुरको भैँसी प्रथम

न्युजलय १२ चैत २०८०, सोमबार ०४:१७ मा प्रकाशित

इटहरी । भैँसीपालनतर्फ किसानलाई आकर्षित गर्न सुनसरीको इटहरीमा भैँसी प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगितामा इटहरी ३ का चन्द्र बहादुर वस्नेतको भैसी प्रथम भएको छ । यस्तै सुन्दरहरैचा ५ की पदम कुमारी राईको भैसी दोस्रो तथा सोहि स्थानका भोजराज गौतमको भैसी तेस्रो भएको छ ।

यसैगरी सुन्दरहरैँचा ५ कै तिर्थ कुमारी लिम्बुको भैसी चौथो भएको कार्यक्रम संयोजक तथा आयोजक संस्था दुग्द्य उत्पादक सहकारी संस्था लिमिटेडका सचिव राजन धमलाले जानकारी दिए । 


भैँसीपालन गर्दै आएका किसानहरु अन्य पशुपालनतर्फ परिवर्तन हुन थालेपछि भैँसीपालक किसानहरुको प्रोत्साहन गर्न प्रतियोगिता आयोजना गरिएको बताइएको छ ।


दुग्द्य उत्पादक सहकारी संस्थाको ४२ औँ स्थापना दिवसको अवसरमा प्रतियोगिता आयोजना गरिएको संस्थाले जनाएको छ । सुनसरीको इटहरी र मोरङ्गको सुन्दरहरैचाका ३० जना किसानका ५० वटा भैसी प्रतियोगितामा सहभागिता गराईएको थियो । 


भैँसी प्रतियोगिताका निर्णायकमा भेटनरी अस्पताल सुनसरीका प्रमुख कुमार सिंह खत्री, इटहरी उपमहानगरपालिकाका पशुपंक्षी शाखाका प्रमुख डा. दुर्गा बहादुर श्रेष्ठ र ईलारी संस्थाका कार्यक्रम संयोजक एणमणि नेपाल रहेका थिए । 

भैँसीको स्वास्थ्य, रुप, जिउडाल, जात, दुधको उत्पादन लगायतका गुणका आधारमा तीन सदस्य निर्णयक टोलीले विजेता भैँसी घोषणा गरेका थिए ।


पछिल्लो समय किसानले भैसी पाल्न छाड्न थालेकोले यसको महत्व वुझाउन प्रतियोगता आयोजना गरिएको संस्थाका अध्यक्ष खेम काफ्लेले जानकारी दिए ।

भैँसीपालक किसानहरुलाई प्रोत्साहन गर्नका बर्षेनी विभिन्न कार्यक्रम गर्दै आएको संस्थाका व्यवस्थापक ध्रव कोइरालाले बताए । विगतका वर्षमाभन्दा यस वर्ष किसानकै घर दैलोमा पुगेर प्रोत्साहन गर्न प्रतियोगिता आयोजना गरिएको उनको भनाई छ । 


दुग्द्य उत्पादक सहकारी संस्थाले किसानबाट उत्पादन भएको दुध संकलन, बिक्री वितरण गर्दै आएको छ भने आवश्यक ऋणसहितको सुविधा दिँदै आएको व्यवस्थापक कोइरालाले जानकारी दिए ।