अस्पतालबाटै जबरजस्ती करणी मुद्दाका कैदी फरार

न्युजलय १७ साउन २०८१, बिहिबार ११:१९ मा प्रकाशित

मोरङ । जबरजस्ती करणीको मुद्दा खेपिरहेका एक कैदी उपचारका क्रममा विराटनगरस्थित कोशी अस्पतालबाट फरार भएका छन्।

विराटनगरस्थित जिल्ला कारागार मोरङका अनुसार कारागारमा कैद सजाय भुक्तान गरिरहेका विराटनगर–८ का २४ वर्षीय मोहम्मद अहमद बिहीबार बिहान अस्पताल परिसरबाट फरार भएका हुन्।

कारागारका निमित्त जेलर तुलसी पौडेलका अनुसार अहमदलाई पेट दुख्ने गरेको हुँदा मंगलबार उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो। शौचालय जाने बहाना गरी सुरक्षा घेरा तोडेर भागेका अहमद जबरजस्ती करणीको मुद्दामा दोषी ठहरिएर विगत डेढ वर्षदेखि कैद भुक्तान गरिरहेका थिए।

सहजै रूपमा कैदी फरार भएको घटनापछि मोरङका प्रहरी प्रमुख नवराज कार्की खोजतलासमा खटिएका छन्।

मोरङ प्रहरी कार्यालयका अनुसार प्रहरीलाई झुक्याएर फरार भएका कैदीको खोजीका लागि सीमाक्षेत्रमा समेत निगरानी बढाइएको छ। जबरजस्ती करणी मुद्दामा विराटनगरस्थित मोरङ जिल्ला अदालतले २०७९ सालमा १२ वर्षको कैद र ५ लाख रुपैया जरिवानाको फैसला गरेको बताइएको छ।