ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

न्युजलय २८ माघ २०८०, आइतबार १२:३२ मा प्रकाशित

विराटनगर । विराटनगरको बरगाछीमा आइतबार(आज) बिहान ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । 

 विराटनगर महानगरपालिका–२ र ५ को सिमानामा बिहान दुर्घटना भएको हो । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १४११ नम्बरको ट्रकले को ३६ प २८८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार दुर्घटनामा स्कुटर चालक सुनसरीको दुहवी नगरपालिका–९ का अन्दाजी २५ वर्षीय नगेनकुमार चौधरीको मृत्यु भएको छ । 

गम्भीर घाइते भएका चौधरीको उपचारका लागि कोशी अस्पतालतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनालगत्तै आक्रोसित बनेका स्थानीयले ट्रकमा आगजनी गरेका छन् । आगजनीबाट ट्रकको अगाडिको भाग पूर्ण रूपमा जलेको छ । 

दमकलको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिएको थियो । आगजनीमा संलग्न भएको आशंकामा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ । विराटनगर–४ का प्रल्हाद रायसहितलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।