सोमबारे औंसीबाट मलमास प्रारम्भः मलमासमा के गर्नु हुन्छ, के गर्न हुँदैन?

न्युजलय २ साउन २०८०, मङ्गलबार १२:२० मा प्रकाशित

सामान्यतया प्रत्येक वर्षमा १२ महिना हुन्छन्, तर पूर्वीय गणना पद्धति अर्थात् ज्योतिषीय चन्द्रपञ्चाङ्गअनुसार तीन वर्षमा एकपटक थप महिना आउँछ । जसलाई अधिकमास, मलमास वा पुरुषोत्तममास भनिन्छ । 

२०८० सालको साउन २ गतेबाट अधिकमास छ । यसकारण २०८० सालको साउन महिना ५९ दिनको अर्थात् दुई महिनाको छ । प्रत्येक तीन वर्षमा एकपटक एउटा अतिरिक्त महिना आउँछ । 

मलमास प्रत्येक तीनवर्षमा किन र के कारणले हुन्छ ?

प्राचीन नेपाली समाजमा समय निर्धारणको एकमात्र आधार भनेको ज्योतिषीय गणनाबाट तयार पारिएको पात्रो थियो । जसलाई सूर्य पात्रो र चन्द्रपात्रो भनेर नामकरण गरिन्थ्यो । 

सूर्यको गतिलाई आधार मानेर समयको निर्धारण गरिने सूर्यपात्रो हो भने चन्द्रको गतिलाई आधार मानेर समयको निर्धारण गर्ने पात्रो चन्द्रपात्रो हो । सूर्यको गतिलाई  आधार मानेर गणना गर्दा वर्षमा ३६५ दिन हुन्छन् । 

चन्द्रको गतिलाई  आधार मानेर गणना गर्दा वर्षमा ३५४ दिन हुन्छन् । यसरी हेर्दा सूर्यलाई  आधार मानेर गणना गर्दाभन्दा चन्द्रमालाई आधार मानेर गणना गर्दा एक वर्षमा ११ दिनको कम हुन्छन् । 

यही क्रमले तीन वर्षमा ३३ दिन कम हुन्छन् । यी ३३ दिन तीन वर्षपछि थप महिना हुन्छ । यो थप ३३ दिन एक महिनामा थपिन्छ, जसलाई अधिकमास नाम दिइएको छ । चन्द्रमाका आधारमा गणना गरिने पात्रोमा ३२ महिना १६ दिन ८ घण्टाको गणना पश्चात् बन्ने वर्षको अतिरिक्त भाग नै अधिकामास हो ।

यसले खाडल पूरा गर्ने वा सूर्य र चन्द्र वर्षबीच सन्तुलन सिर्जना गर्न अधिकमासको भूमिका महत्त्वपूर्ण छ । यसो गर्नाले सूर्य पात्रो र चन्द्रपात्रोका आधारमा निर्धारण गरिने चाडपर्वको मितिहरूमा कुनै परिवर्तन हुँदैन र तिथिमितिमा एकरूपता रहन्छ, साथसाथै अधिकामाका कारणले समयावधिको गणनालाई व्यवस्थित बानाउन मद्दत गर्दछ ।

अधिकमासको महत्त्व

पूर्वीय खोज र अध्ययनले यो संसार पाँच तत्व (पृथ्वी, जल, अग्नी, वायु र आकाश) मिलेर बनेको छ भन्ने कुरालाई प्रमाणित गर्छ । यस संसारमा रहेका प्रत्येक प्राणीहरू यिनै पाँच तत्त्वबाट बनेका हुन्छन् । 

धार्मिक कार्यका साथसाथै दान, ध्यान, योग आदिको माध्यमबाट आफ्नो शरीरमा रहेका यी पञ्चमहाभूतहरूको उजागर गर्नु मानवीय जीवनको वास्तविक उद्देश्य हो । सम्पूर्ण ग्रहरूको सम्यक् योग, प्रकृतिको तादात्म्य आदिलाई केन्द्रमा राखेर साधना गर्नाले मञ्चमहाभूतहरूको यथाशीग्र सन्तुलन कायम हुने हुँदा सूर्य र चन्द्रको गति व्यवस्थित गर्नका लागि निर्माण भएको अधिकमासमा गरिने साधनाले तुलनात्मकरूपामा छिटै ऊर्जा प्राप्त हुने प्रमाणहरू शास्त्रमा पाइन्छन् । यस महिनामा देवताहरू विशेष सक्रिय हुने र प्रार्थना स्वीकार गर्ने पौराणिक मान्यता छ । 

यस समयमा मानिसहरूले आध्यात्मिक मार्गदर्शन खोज्ने र धार्मिक अनुष्ठानहरू सञ्चालन गर्ने तथा सेवाका कार्यहरू गर्नु पर्दछ । यसरी सधना र सेवाका माध्यबाट सन्तुलित जीवनयापनको प्रयास गर्ने समयलाई अधिकमास भन्दा अत्युक्ति हुँदैन । प्रत्येक तीन वर्षमा आउने अधिकमासमा गरिने पवित्र कर्मले शारीरिक पवित्रता प्राप्त गरिन्छ यसकै माध्यमले मानिसमा नयाँ आध्यात्मिक ऊर्जा प्राप्त हुने महत्त्व ग्रन्थहरूमा बताइएको छ । 

अधिकमासमा के गर्नु पर्छ ?  

अधिकमासमा गरिने पुजाको आफ्नै महत्व छ । यस महिनामा ब्रह्मचर्य नियमलाई पूर्णतया पालना गर्नु पर्दछ । खाटमा नसुती भुइँमा विस्तारा लगाएर सुत्ने र एकछाकमात्र खाना खाने पुरुषोत्तम भगवानको महिमा बताइएका कथा पढ्ने, सुन्ने र सुनाउनाने कार्य गर्नाले धेरै आध्यात्मिक लाभ मिल्दछ । 

यसै महिनामा तुलसीको विशेष तरिकाबाट पूजा गर्नाले अनन्तकालसम्म वैकुण्ठमा बास हुने पौराणिक आधार पाइन्छ । श्रीकृष्ण चरित्र, श्रीमद्भागवद्गीता, श्रीरामकथाको श्रवण तथा भगवान् विष्णुको पूजा गरिनु अत्यन्तै फलदायी मानिन्छ । यस समायमा गरिएको जप, तपस्या र दानबाट असीम पुण्य प्राप्त हुन्छ । यो महिना दान गरेको एक रुपैयाँले पनि सयगुणा फल दिने शास्त्रीय प्रमाणका आधारमा पनि यो महिना दान, ध्यान र साधनाको सुन्दर समय हो । 

दीपदान गर्नाले ऐश्वर्य प्राप्त हुने, वस्त्र दान गर्नाले मोक्ष प्राप्त हुने तथा मालपूवा निर्माण गरेर उपयुक्त पात्रलाई दान गर्नाले चिन्तित् सम्पूर्ण मनोकामना प्राप्त हुनुका साथै भगवानको सायुज्य प्राप्त हुन्छ । त्यसैले अधिकमासमा सकेसम्म प्रत्येक दिन नभए पनि एकदिन मालपुवा निर्माण गरी चरेसको थालमा राखेर उपयुक्त पात्रलाई दान दिनुपर्दछ ।

के गर्न हुँदैन ?

पञ्चाङ्गअनुसार तिथी, योगकरण, नक्षत्रका अतिरिक्त सबै महिनाका कुनै न कुनै देवता हुन्छन् र त्यसमयमा गरिने शुभकार्यको फल तद्देवताले प्रदान गर्दछन् तर पुरुषोत्तम महिनाका कुनै पनि निश्चित स्वामी हुँदैनन् त्यसैले सबै शुभकार्य र पितृकार्य यस महिनामा गरियो भने निष्फल हुन्छन् । 

अतः यस समयमा कुनै पनि शुभकार्य र पितृकार्य गरिनु शास्त्रीय मानिँदैन । नित्य गरिने पुजा महिनाको उपाशना,दैनिक पुजा, विशेष साधना गर्नका लागि यो समय उपयुक्त मानिन्छ । बिबाह गरेको पहिलो पटक मलमास परेमा श्रीमान् श्रीमती दुबैले नियम पूर्वक महिना दिन बार्नुपर्दछ ।