काठमाडौं । रामेछापकी रत्नकुमारी सुनुवार ८० वर्षको उमेरमा कक्षा १२ को परीक्षा २.६४ जीपीएका साथ उत्तीर्ण भएकी छन् ।
रत्नकुमारीले काठमाडौंको शान्तिनगरस्थित बानेश्वर क्याम्पसबाट १२ कक्षाको बोर्ड परीक्षा दिएकी थिइन् । ग्रामीण विकास, समाजशास्त्र र जनसञ्चार विषय लिएर पढेकी उनी नियमित विद्यालय जाने गर्थिन् ।
रामेछाप ‘चरिकोट अड्डा’ मा जन्मेकी रत्नकुमारीका चार छोराछोरी र सात नातिनातिना छन् ।
रत्नकुमारीले कोरोना आएका बेला एसईईको परीक्षा दिएकी थिइन् । त्यसपछि लगालग परीक्षा दिएर १२ कक्षा उत्तीर्ण भएकी हुन् ।
उनलाई पढ्नका लागि परिवारका सदस्यहरूले हौसला दिएका थिए । छोराबुहारी र श्रीमानको हौसलाले आफू पढाइमा अघि बढेको उनले बताएकी छन् ।
छोराछोरीहरूले पढाइ अपूरो छोडेपछि उनीहरूलाई प्रेरणा दिनका लागि पनि आफूले पढ्न थालेको उनको भनाइ छ ।