मलेसियामा जारी महिला टी–२० क्रिकेटको चौथो खेलमा नेपाल पराजित

न्युजलय २० जेठ २०८०, शनिवार ०७:४२ मा प्रकाशित

काठमाडौँ । महिला टी–२० क्रिकेट प्रतियोगिताको चौथो खेलमा नेपाल मलेसियासँग ४ विकेटले पराजित भएको छ । 

मलेसियामा जारी द्विदेशीय शृङ्खला अन्तर्गत शनिबार (आज) भएको खेलमा मलेसियाले नेपाललाई ४ विकेटले हराएको हो । नेपालले दिएको ९७ रनको लक्ष्य मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

मलेसियाका लागि विनफ्रेड अन्ना दुरासिगमले ३८, महिरा इजाति इस्माइलले १६ र यास्मिन जुल्किफिलले १३ रन बनाउँदा नेपाल चौथो खेलमा पराजित हुन पुगेको हो । नेपालले यसअघि दोस्रो र तेस्रो खेलमा भने क्रमशः ७ विकेटले र २७ रनले विजयी भएको थियो ।

पाँच खेलको शृङ्खलामा दुवै टोलीले २–२ को बराबरी गरेका छन् । सिरिजको अन्तिम खेल भोलि हुनेछ । भोलिको खेलमा जित निकाल्ने टोलीले शृङ्खला जित्ने छ ।