उद्योग वाणिज्य संघको आह्वानमा सोमबार इटहरी बजार बन्द, बेंकले गुण्डागर्दी देखाएको आरोप

न्युजलय ११ असार २०८०, सोमबार ०६:३७ मा प्रकाशित

इटहरी । ग्लोबल आईएमइ बैंकले गुण्डागर्दी देखाएको भन्दै उद्योग वाणिज्य संघले आज (सोमबार) इटहरी बजार बन्द गराएको छ । 


प्रहरीसमेत लिएर गइ बैंकले आइतबार इटहरीको शुभलक्ष्मी ज्वेलर्सको सामान जफत गर्न खोजेको थियो । 


व्यापारीलाई आतंकित बनाएको र गुण्डागर्दी शैलीमा बैंक प्रस्तुत भएको भन्दै उद्योग वाणिज्य संघ इटहरीले बजार बन्दको आह्रवान गरेको हो । 


बैंकबाट लिइएको ऋणको साँवा व्याज तिर्न नसकेपछि बैंकले ऋण लिँदा राखेको सम्पती लिलामीका लागि पत्रिकामा सूचना प्रकाशन गरिसकेको थियो । 


सुन पसल संचालक राजमणी श्रेष्ठले ग्लोबल आईएमई बैंकको ऋण तिर्नका लागि अर्को एक वाणिज्य बैंकमा ऋणकै लागि आवश्यक प्रकृगा अगाडि बढाईसकेपनि आइतबार एकाएक हतियारसहितको प्रहरी लिएर आएर बैंकका कर्मचारीहरुले गुण्डागर्दीशैलीमा सुन, पैसा र अन्य सामानहरु जफत गर्न खोजेपछि उद्योग वाणिज्य संघले प्रतिकार गरेको थियो । 


उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले व्यवशायलाई सुरक्षित वातावरण निर्माणका लागि आफूहरु सधैं साथमा उभिने बताएका छन् । कोरोना र आर्थिक मन्दीजस्ता संकटबाट गुज्रिरहेका व्यवशायीहरुलाई आतंकित बनाउने कामको आफूहरुले सधै विरोध गर्ने बताए ।