काठमाडौं । फिल्म ‘प्रेमगीत ३’ घटस्थापनाको तीन दिन अगाडि अर्थात् असोज ७ गतेबाट प्रदर्शनमा आउने भएको छ । आइतबार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै फिल्मको मिति तोकेको हो ।
अहिलेसम्म यो मिति अरु नेपाली फिल्मले रोजेका छैनन् । फिल्ममा ठूलो लगानी भएका कारण निर्माण टिमले दशैंको विदा रोजेको हो । अरु बेलाभन्दा दशैंमा फिल्म प्रदर्शन गर्दा लगानी उठाउन सजिलो हुने विश्वास निर्माताहरुमा छ ।
छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्रीलगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।
‘प्रेमगीत ३’बाट क्रिस्टिनाले अभिनेत्रीको रुपमा डेब्यू गर्दैछिन् । फिल्मलाई राजेश श्रेष्ठले खिचेका हुन् ।