विराटनगर । विराटनगर–१८ स्थित बैजनाथपुर रंगशालालाई तीन वर्षभित्रमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाइने भएको छ । कोशी प्रदेश सरकारले यस्तो घोषणा गरेको हो ।
एसीसी प्रिमियर कप विजयी राष्ट्रिय टिमका खेलाडीलाई सम्मान गर्न विराटनगरमा आयोजित कार्यक्रममा प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले खेलाडी एवं व्यवस्थापकसामु प्रदेश सरकारले बैजनाथ रंगशालालाई तीन वर्षभित्र अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानमा रूपान्तरण गर्ने विश्वास दिलाए ।
कार्कीले आगामी बजेटमै उक्त क्रिकेट मैदान निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गर्ने आश्वासन दिए । मुख्यमन्त्री कार्कीले प्रदेश सरकारको आगामी बजेट चालु वर्षको तुलनामा ३० देखि ४० प्रतिशत कम हुनेसमेत बताउँदै आएका छन् ।