सुनसरीबाट बालिका अपहरणको आरोपमा तीन जना पक्राउ

न्युजलय १७ साउन २०८१, बिहिबार ०३:१९ मा प्रकाशित

 सुनसरी  । सुनसरीबाट बालिका अपहरण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

बालिका अपहरण गरेको आरोपमा प्रहरीले विराटनगर वडा नम्बर –६ बस्ने ५० वर्षीय संजय पासवानसिहत तीन जनालाई पक्राउ गरेको हो।

दुहबी नगरपालिकास्थित मामाको घरमा खेलिरहेको अवस्थामा संजयले ६ वर्षीया बालिकालाई अपहरण गरेर लगेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

बालिकाकी ठूलीआमा वैदेशिक रोजगारीका लागि विदेश जाने भनेर काठमाडौँ आएको बेला उनले अपहरण गरेको प्रहरीले बताएको छ।

कोसी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय सुनसरी, मोरङ र इलाका प्रहरी कार्यालय दुहबीबाट खटेको संयुक्त टोलीले संजयलाई विराटनगर–१० बाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा उनी विराटनगर–१० कलानन्द पासवान र सरिता पासवानको डेरा कोठामा लुकेर बसेको प्रहरीले जनाकारी पाएको थियो।

बन्धक बनाइएको बालिकालाई उद्धार गरी प्रहरीले संजयसहित मोरङ कटहरी गाउँपालिका–६ का कलानन्द र ४० वर्षीया सरितालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

बालिका अपहरणबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।