इटहरी उपमहानगरले ल्यायो विद्युतीय नगर बस

न्युजलय २३ साउन २०८१, बुधबार ११:३० मा प्रकाशित

इटहरी । इटहरी उपमहानगरपालिकाले ६ करोड ३६ लाख खर्च गरेर चारवटा विद्युतीय नगर बस ल्याएको छ ।नगर क्षेत्रभरी यातायातको सेवा पुर्‍याउन उपमहानगरपालिकाले विद्युतीय नगर बस खरिद गरी सोमबार ल्याएको हो ।

नगर बस सञ्चालनको लागि कार्यपालिका बैठकमार्फत इटहरीका प्रवक्ता तथा वडा नं.६ का वडाध्यक्ष दिवस पोख्रेलको संयोजकत्वमा समिति बनाएर कार्य अगाडि बढाइएको थियो ।

पोखरेलका अनुसार इटहरी आइपुगेको नगर बस दसैँ अघिदेखि सञ्चालनमा ल्याइनेछ ।

नगर बसलाई इटहरी क्षेत्रभित्र सञ्चालन गर्नेगरी रुट निर्धारण गरिने र नगर बस सञ्चालनका लागि सडक नबनेका ठाउँमा बनाइने उनको भनाइ छ । अहिले नगर बस रुट निर्धारण र व्यवस्थापनको लागि कार्यविधि अन्तिम चरणमा पुगेको उनले बताए ।

नगर बस खरिदको लागि नेसनल फायर सेफ प्रालिसँग सम्झौता भएको मेसिनरी औजार व्यवस्थापन शाखा प्रमुख गणेश भट्टराईले जानकारी दिए । उनका अनुसार गत फागुन ८ गते ६ करोड ३६ लाख ८६ हजार रुपैयाँमा नगर बस ल्याउने सम्झौता भएको थियो ।

इटहरी आइपुगेको नगर बस अपाङ्गमैत्री रहेका भट्टराईले बताए । उनले बिद्युतीय बसमा इञ्जिन नहुने भएकाले बिग्रिदाँ कम खर्चिलो हुनेसमेत बताए । बस सञ्चालनको लागि चालक र सहचालक नियुक्त गर्ने तयारी भइरहेको उनको भनाइ छ ।