इटहरी । श्रीकृष्ण प्रणामी धर्मका गुरु परमहन्स स्वामि सदानन्द महाराजले इटहरीस्थित श्रीकृष्ण प्रणामी मुक्तिधाम भ्रमण गरेका छन् ।
मन्दिर परिसरमा निर्माणाधिन अस्पतालको भ्रमण तथा अवलोकन गरेका हुन् । उनले भ्रमणपछि संक्षिप्त प्रतिक्रिया दिँदै पाँच सय बेडको अस्पताल बनाउनको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपालभर विभिन्न स्कुल, मन्दिर, अस्पताल निर्माणका लागि सहयोग जुटाएका सदानन्द महाराजले इटहरीमा निर्माणाधिन अस्पताललाई पनि सहयोग जुटाउने आश्वासन दिएका हुन् । उनले सरकारसँग समेत सहयोगको अपेक्षा रहेको बताउँदै सबैको सहकार्यमा अस्पताल बन्ने बताए ।
इटहरीमा सुविधासम्पन्न अस्पताल नहुँदा बिरामीहरुलाई अन्य शहर जानुपर्ने बाध्यता अन्त्य गर्न श्री कृष्ण प्रणामी प्रतिष्ठान नेपालले अस्पताल निर्माणको काम गरिरहेको छ । तत्काललाई १५ बेडको अस्पताल बनाइनेछ भने यही वर्षको चैतमा पाँच सय बेडको अस्पतालको निर्माण सुरु गरिने हस्पिटल निर्माण समिति तथा बृहत्तर मुक्तिधाम क्षेत्र विकास समितिका अध्यक्ष हेमप्रसाद घिमिरेले बताए । ‘यही चैतमा यो अस्पताल उद्घाटन हुनेछ भने पाँच सय बेडको अस्पतालको लागि भवन शिलान्यास गरिनेछ,’ उनले भने, ‘त्यसको लागि जग्गाको व्यवस्थापन गर्न उपमहानगरपालिकालाई अनुरोध गरिहेका छौं ।’
अहिलेको अस्पताल भवन बनाउन तीन करोड रुपैयाँ खर्च भइसकेको छ । यसमा प्रदेश सरकारले ४५ लाख र इटहरी उपमहानगरले दुई चरणमा गरी ३० लाख रुपैयाँ दिएको छ भने बाँकी रकम दाताहरुले दिएका छन् । जम्मा लागत ६ करोड अनुमान गरिएको छ ।
अस्पताल व्यवशायीक नभइ सेवामुखी हुने हुँदा सुलभ मुल्यमा बिरामीले सेवा पाउने उनले बताए । घिमिरेका अनुसार अहिले इटहरीमा स्तरोन्नती भइरहेको इटहरी अस्पतालले पनि अबको केही वर्षमा बिरामीको चाप थेग्न नसक्ने बताउँदै ठूलो अस्पताल इटहरीको लागि अत्यावश्यक भएको बताए ।
‘पाँच सय बेडको अस्पताल हाम्रो सपना हो, त्यसको लागि अहिलेको डिभीएम स्कुल रहेको जग्गाको लागि हामीले उपमहानगरपालिकासँग अनुरोध गरिरहेका छौं,’ उनले भने, ‘त्यहाँको निजी जग्गा प्रतिष्ठानले नै किन्नेछ भने सरकारी ऐलानी जग्गा उपमहानगरपालिकाबाट पायौं भने त्यहाँ देश विदेशबाट सहयोग जुटाएर पनि सुविधासम्पन्न अस्पताल बनाउँछौं ।’
अस्पताल निर्माणको नेतृत्व घिमिरेले गर्दैछन् । घिमिरेकै नेतृत्वमा श्रीकृष्ण प्रणामी मन्दिरको पुनर्निर्माण गरेर आकर्षक बनाइएको छ भने उनकै नेतृत्व र सक्रियतामा इटहरीको मुक्तिघाटले आजको स्वरुप पाएको हो ।