पोखरा । गृहमन्त्री बालकृष्ण खाँणले पोखराको पर्यटन व्यवसाय चौबिसै घण्टा खोल्ने तयारी गरेको बताएका छन् । २३औं पोखरा सडक महोत्सव उद्घाटन गर्दै बिहीबार उनले देशका अन्य भूभागमा पनि चौबिसै घण्टा व्यवसाय खोल्न दिने आफ्नो चाहना रहेको धारणा राखे ।
‘रेस्टुरेन्टलाई चौबिसै घण्टा खोल्न दिने खालको प्रबन्ध पोखराबाटै होस् भन्ने मेरो चाहना छ । त्यसमा व्यवसायीकै सबैभन्दा ठूलो सहयोग हुन्छ,’ उनले भने, ‘पोखराका व्यवसायीको साथमा सरकार छ । होटल, रेस्टुरेन्ट व्यवसायी, लगानीकर्ता, कर्मचारी मजदूरको साथमा सरकार छ, त्यही कुराको जनाउ दिन म पोखरा आएको हुँ ।’
कहाँ कहाँ २४ घण्टा खुल्ने रेस्टुरेन्ट चलाउने भन्ने व्यवसायीले नै तय गर्नुपर्ने उनको भनाइ छ । नजिकका स्थानीयले अवरोध नगर्ने गरी ठाउँ छुटयाउन उनले व्यवसायीलाई आग्रह गरे । रातभर व्यवसाय खोल्ने वातावरण बनाउन जनप्रतिनिधिले स्थानीयलाई मनाउन भूमिका खेल्नुपर्ने उनले बताए । तत्काल बैठक डाकेर पोखरामा २४ घण्टा रेस्टुरेन्ट खोल्ने ठाउँ तोक्न कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिए ।
कहाँकहाँ चौबिसै घण्टा होटल, रेस्टुराँ खोल्न सकिन्छ भन्नेबारे अध्ययन गर्न गृह मन्त्रालयमा सहसचिव फणीन्द्र पोखरेलको संयोजकत्वमा कार्यदल बनेको र त्यसले आफ्नो तयारी गरिरहेको उनले जानकारी दिए । प्रहरी प्रशासनलाई पनि सहयोगी भूमिका निर्वाह गर्न उनले कार्यक्रममार्फत नै निर्देशन दिए ।
होटल रेस्टुरेन्टमा गएर प्रहरीले व्यवसायीलाई दुःख दिने या जबर्जस्ती बन्द गराउने काम नगर्न उनले निर्देशन दिए ।
अंग्रेजी नयाँ वर्षको अवसरमा रेस्टुरेन्ट एन्ड बार एसोसियसन नेपाल (रेबान) पोखराले सडक महोत्सव आयोजना गरेको हो । ‘सडकमै खाऔं, सडकमै नाचौं र सडकमै रमाऔं’ भन्ने नारासहित शनिबारसम्म गरिने महोत्सव पर्यटकीय क्षेत्र लेकसाइडको ३ किलोमिटर क्षेत्रमा सञ्चालन हुन्छ ।
सहिदचोकदेखि डिहिकोपाटनसम्मको सडकमा यातायात बन्द गरी सडकमै राखिएका रेस्टुरेन्टको मज्जा लिन हजारौं आन्तरिक तथा बाह्य पर्यटक यतिखेर पोखरा आउँछन् ।