बेपत्ता मञ्जुको शव सर्दु जलाधार क्षेत्रमा फेला

ज्योति पोख्रेल ४ मङ्सिर २०८२, बुधबार ११:३० मा प्रकाशित

इटहरी । इटहरी–२ की ३५ वर्षीया मन्जु पौडेल निरौलाको शव सर्दु जलाधारस्थित खोल्सामा फेला परेको छ।

गत २४ कार्तिकमा बिहान साढे ८ बजेतिर घरबाट निस्किएपछि बेपत्ता भएकी उनी घर नफर्किएपछि परिवारले इलाका प्रहरी कार्यालय इटहरीमा खोजी गरिदिन निवेदन दिएका थिए ।

खोजी गर्ने क्रममा २७ कार्तिकमा धरान– ४ बौद्ध विहार नजिक कोशी लोकमार्ग छेउमा रातो लेडिज स्विटर, कालो चप्पल, खैरो ब्याग र सल फेला परेपछि प्रहरीले खोजी तीव्र पारेको थियो ।

इलाका प्रहरी कार्यालय धरानका अनुसार शव फेला परेको सर्दु जलाधार क्षेत्र धरान बजारदेखि करिब १३ किलोमिटर उत्तर–पूर्व तर्फको दुर्गम भूभाग पर्छ।

भौगोलिक अवस्था, शवको स्थिति र फेला परेका सामानबीचको तालमेलले घटना शंकास्पद देखिएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनास्थलको मुचुल्का, शरीरको अवस्था, आसपासका भौगोलिक संकेत र प्रमाण संकलन गरी शवलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा पोष्टमार्टमका लागि पठाइसकेको छ।

पोस्टमार्टम रिपोर्टपछि थप अनुसन्धान अगाडि बढाइने प्रहरीको भनाइ छ।