विराटनगर । तेह्रथुमको आठराई गाउँपालिकामा लागेको आगलागीबाट एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ ।
कोयाखोलास्थित पुरानागाउँमा शनिवार साँझ भएको आगलागीबाट करिब एक करोड २० लाख रुपैयाँ बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय आठराईले जनाएको छ ।
आगलागीबाट पुरानागाउँका तीनवटा घर नष्ट भएका छन् । यस्तै पाँचवटा गोठ पनि जलेको प्रहरीले जानकारी दिएको छ । जलेकामध्ये दुई घरमा मानिस बस्ने गरेका थिए ।
दक्षिण स्याखोपको जंगलबाट आएको डडेलो वस्तीसम्म पुगेकाले आगो लागेको हो । आगलागीपीडित दुई परिवारलाई आठराई गाउपालिकाले तत्काल खाने–बस्ने व्यवस्थापन गरेको छ ।