"त्यो बाइयत उजुरी लाउने मान्छे को हो त्यो ?" - अख्तियारलाई हर्क साम्पाङको जवाफ

न्युजलय ११ माघ २०८१, शुक्रबार ०२:३८ मा प्रकाशित

मिति: २०८१/१०/११

नेपाल संवत् ११४५


श्री अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय

इटहरी, सुनसरी।


विषयः राय प्रतिकृया उपलब्ध गराइएको सम्बन्धमा ।


उपर्युक्त सम्बन्धमा ताहाँ आयोगबाट मिति २०८१।१०।०२ को पत्र मार्फत सोधपुछ गरिएको विषयमा उत्तर दिइएको । धरानको खानेपानी बोर्ड स्वयत्त निकाय हो। यसले आफ्नो नगरबासीहरुलाई पानीको आपूर्ती गर्न सबै खाले विधि अपनाउन सक्छ । नगरवासीहरुलाई सुलभ तरिकाले अटुट रुपमा खानेपानी वितरण गर्नु यस्को एक मात्र उद्देश्य हो। 


विहान उठ्ने बित्तिकै टोइलेट जानु पर्छ। टोइलेटमा पानी छैन भने के हुन्छ त्यो भनिरहन पर्दैन होला। 


केही छिन पछि भात पकाउनु परो । भात पकाउन पानी चाहिन्छ। भात खाए पछि हातमुख चुठ्नु परो त्यसको लागि नि पानी चाहिन्छ। 


जुठोभाँडा लडाइराख मिलेन धुनै परो त्यसको लागि नि पानी नै चाहिन्छ। 


फोहोर लुगा लगाएर भूएन धुनै परो। लुगा धुन नि पनि नभै नहुने । 


स्वास्थ्य रहनलाई प्रशस्त पानी पिउनु पर्छ र दैनिक नुहाउनु पर्छ भन्छ केही नजान्ने डब्लु एच ओ ले। नुहाउनलाई नि पानी चाहियो । 


यसो ... करेसावारी र बगैंचा तिर नि पानी चाहिने नै भो । फेरि सुँगुर कुखुरा चौपायालाई नि पानी नखुवाइ नहुने । 


त्यसो भएको हुनाले धरानबासीको जीवन बचाउन र जीवन चलाउन जसरी भए पनि काम त गर्ने परो मैले, इन फ्याक्ट हाम्ले । त्यसैले कोकाहा खोलाको पानी ४२ किलोमिटर टाढाबाट भीर पाखा, डाँडाकाँडा, झोर जङ्गल, खोला खोल्सी, उकाली ओराली, भंज्याङ चौतारी छिचोल्दै घुमाउँदै घुमाउँदै ... घुमाउँदै ... घुमाउँदै... घुमाउँदै घुमाउँदै... घुमाउँदै घुमाउँदै लड्‌दै र पड्दै... तान्यो... तान्यो... एक्छिन है...  बिस्तारै सुल्काउँ है... भन्दै... ओहोइ भर्नु त...  भन्दै घरी घरी नाच्दै र गाउँदै पनि... बिजोग रमाइलो गरी ल्याउँदैछौ है ल्याउँदैछौं । 


केन्द्र सरकारलाई कोशीबाट पानी ल्याइदिनु है भनेर वर्षों विन्ति बिसाउँदा पनि नसुनेकोले अस्ति थोत्रे गाग्री लिएर सिंहदरबार पुगेँ । जनतालाई पानी चाहिएको छ है तत्काल पानी चाहिएको छ। आश्वासन र कागजको खोस्टा होइन पानी चाहिएको छ के । त्यसैले हाम्ले श्रमदान गर्नु परेको हौ...  खोइ कुरा बुझ्या । 


अब केन्द्र सरकारबाट तत्काल कोशीको पानी ल्याएर खुवाउने सम्भावना नभए पछि वोर्डको स्वायत्त अधिकार प्रयोग गरी समर्थक र सहयोगीहरुको आर्थिक र भौतिक सहयोग लिएर कोकाहा खानेपानी श्रमयोजना २ चलिरहेको छ। एक दिन आउनु है मूहानवाट धरानसम्म हिँड्दै हिँड्दै पाइप गन्न र प्रोजेक्ट हेर्न । कम्ता रमाइलो छैन। 


त्यो बाइयत उजुरी लाउने मान्छेले कति वटा पाइप किनेर दियो ? कति दिन श्रमदान गन्यो ? को हो त्यो ? बुझेर लेखिपठाउनु होला । धरानको हो कि धरान बाहिरको हो त्यो फटाहा ? अचम्म लाग्छ यत्रो दुःख गर्दा नि ताली नवजाको देख्दा । राज्यको ढुकुटी खर्चेर बनाएको मेलाम्ची, दमक टावर, एनसेल, वाइड बडीजस्ता कुरा तिर नलागेर श्रमदान अभियानको खेदो नखन्नु है, नखन्नु तिर्खाएका मानिसहरुको श्राप लाग्ला। पानी भनेको विकास होइन जीवनको आधार, मानिसको आधारभूत आवश्यकता हो। पानीमा राजनीति गर्नु हुँदैन । 


पानी माग्न जनता त्यता आउलान है फेरि । धन्यवाद ।


बोधार्थ

श्री प्रमुख प्रशासकीय अधिकृत, धउमनपा ।

श्री धरान खानेपानी व्यवस्थापन बोर्ड, धरान ।



हर्कराज राई

नगर प्रमुख