सरकारको आम्दानीभन्दा खर्च ७७ अर्ब रुपैयाले बढी

न्युजलय २ पुस २०७९, शनिवार ०२:३६ मा प्रकाशित

काठमाडौँ । नेपाल सरकारको खर्च आम्दानीको तुलनामा बढ्न थालेको छ । आम्दानीका स्रोत सङ्कुचित बन्दै गइरहेको र खर्चमा भने कुनै नियन्त्रण नहुँदा सरकारी ढुकुटी घाटामा देखिएको हो । 

महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्षको मङ्सिर मसान्तसम्म सरकारको कुल आम्दानीभन्दा खर्च ७७ अर्ब ३८ करोड रुपियाँले बढी छ । कार्यालयको तथ्याङ्कअनुसार मङ्सिरसम्म सरकारले विभिन्न शीर्षकमा कुल तीन खर्ब ३७ अर्ब ८२ करोड रुपियाँ आम्दानी गरेको छ जब कि सरकारको खर्च चार खर्ब ३५ अर्ब रुपियाँ नाघेको छ । 

अनुमानित आम्दानी केही बढी छ भने खर्चतर्फ चालुबाहेकको खर्चमा सुधार देखिएको छैन ।

मङ्सिरसम्म सरकारको पुँजीगत खर्च करिब ३४ अर्ब रुपियाँमा सीमित छ । यो चालू आर्थिक वर्षको लक्ष्यको करिब ९ प्रतिशत मात्र हुन आउँछ ।