काठमाडौँ । नेपालको हवाई क्षेत्रलाई लामो समयदेखि कालोसूचीमा राखेको युरोपियन युनियन (ईयू) लाई नेपालले पहिलो पटक काउन्टर दिएको छ ।
नेपालले पनि युरोपमा बनेका जहाज ल्याउन रोक लगाउन थालेको छ । जसअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले माउन्टेन हेलिकप्टरलाई एटीआर हेलिकोप्टर ल्याउने दिएको अनुमति रद्ध गरेको छ । धेरैजसो दुर्घटना एयरक्राफ्टकै सेक्युरिटीका कारण भएको पाइएकाले अनुमति नदिइएको प्राधिकरणले जनाएको छ ।
नेपालमा अहिलेसम्म ११० वटा हवाई दुर्घटना भएको रेकर्ड छ । यी दुर्घटनामा ९६५ जनाको मृत्यु भएको छ । यसरी भएकामध्ये ४१ वटा हेलिकोप्टर दुर्घटनाका छन् । हेलिकोप्टर दुर्घटनाका अधिकांश घटनामा एयरक्राफ्टकै समस्या देखिएको भूलको भनाइ छ ।
हाल नेपालमा ३४ वटामध्ये ३० वटा एटीआर हेलिकोप्टर रहेका छन्, जुन युरोपियन कम्पनीका हुन् । त्यस्तै नेपालमा भएका ६० वटा जहाजमा पनि धेरैजसो एयरबसका छन् । यो फ्रान्सेली कम्पनि हो । एटीआर पनि फ्रान्सेली र इटालियन लगानी भएको कम्पनी हो ।
नेपालको हवाई सुरक्षा कमजोर भएको भन्दै सन् २०१३ यता नेपाल ईयूको कालो सुचीमा छ । सुरक्षा सुधार गर्दै लगेपनि ईयूले कालोसुचीबाट नहटाएपछि नेपालले प्रतिवाद थालेको हो ।