धनकुटामा माइक्रोबस दुर्घटना हुँदा एकजनाको मृत्यु, १४ घाइते

न्युजलय ६ मङ्सिर २०८२, शुक्रबार ११:४६ मा प्रकाशित

धनकुटा  । धनकुटामा माइक्रोबस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।

काठमाडौँबाट सङ्खुवासभातर्फ जाँदै गरेको बा ४ ख ५५०२ नम्बरको माइक्रोबस धनकुटा पाख्रिबास नगरपालिका–५, भैंसेमा आज बिहान दुर्घटनामा परेको हो।

दुर्घटनामा परी सङ्खुवासभा, सभापोखरी–२ की ८२ वर्षीया सबिता कालाखेतीको घटनास्थलमै मृत्यु भएको धनकुटा प्रहरीले जानकारी दिएको छ ।

उनका अनुसार घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइते चालक जितेन्द्र बुढाथोकी र अर्को एक यात्रुलाई थप उपचारका लागि धरानस्थित अस्पताल पठाइएको छ।

साधारण घाइते १२ जनालाई धनकुटा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण भने खुल्न बाँकी रहेको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।