झापा । पूर्वी पहाडको नगदे बाली अलैँचीले उत्पादनको सुरुआती ‘सिजन’मा नै उच्च भाउ पाएको छ ।
अलैँचीको खरिद बिक्री हुने नेपालकै ठूलो बजार विर्तामोडमा आज प्रतिमन ९४ हजारमा कारोबार भएको नेपाल अलैँची व्यवसायी महासङ्घले जनाएको छ । अलैँचीको यो भाउ विगत सात वर्षकै उच्च मानिएको छ ।
विसं २०७५ को अहिलेको सिजनमा अलैँचीको प्रतिमन मूल्य एक लाख पाँच हजारसम्म पुगेको थियो । सोही सालको मङ्सिरमा मूल्य अझ बढेर प्रतिमन रु एक लाख सात हजार पुगेको थियो । २०६७ सालमा प्रतिमन अलैँची रु एक लाख २० हजारसम्ममा कारोबार भएको थियो । त्यसभन्दा बढी मूल्यका अलैँचीको कारोबार कहिल्यै भएको छैन ।
भदौ–असोजतिर भाउ धेरै हुनु भनेको मङ्सिर–पुसतिर अझै बढ्न सक्ने सङ्केत भएको बताइएको छ । अहिले बढेको भाउले अलैँची उत्पादन गर्दै आएका किसान प्रत्यक्ष लाभान्वित हुने भएका छन् ।
किसानले बेच्ने बेलामा अलैँचीको भाउ उच्च हुँदा किसान उत्साही भएका हुन् । किसानबाट यतिबेला किनेको अलैँची भण्डारण गरेर व्यापारीहरूले मङ्सिर–पुसतिर भाउ आकासिएपछि बेचेर धेरै मुनाफा कमाउने गरेका छन् ।
नेपालका ४२ जिल्लामा अलैँचीखेती हुने गरे पनि कोशी प्रदेशका पाँचथर, ताप्लेजुङ, इलाम, सङ्खुवासभा, खोटाङ, भोजपुर र तेह्रथुम जिल्लामा धेरै उत्पादन हुने गरेको छ । कोशी प्रदेशमा सात हजार ५०० हेक्टरभन्दा बढी क्षेत्रफलमा अलैँची खेती हुँदै आएको छ ।
नेपालमा उत्पादित अलैँचीको ९० प्रतिशत निर्यात हुने गरेको छ ।