इटहरी । सुनसरीको रामधुनी नगरपालिका–२ तित्रिवनस्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा एक युवाको मृत्यु भएको छ।
झुम्काबाट इनरुवातर्फ जाँदै गरेको तीनजना सवार प्रदेश १–०२–०४३ प ५८२२ नम्बरको मोटरसाइकल टायर पञ्चर भई सडक किनारमा रोकेर राखिएको को १ ख ५१२८ नम्बरको टिपरमा पछाडिबाट ठोक्किएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक इनरुवा नगरपालिका–८ निवासी २९ वर्षीय बिनोद चौधरी गम्भीर घाइते भएका थिए।
उनको टाउकोमा गम्भीर चोट लागेको अवस्थामा उपचारका लागि विराटनगरस्थित नर्सिङ होम पठाइएको थियो। उपचारकै क्रममा आइतबार राति चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
मोटरसाइकलमा पछाडि सवार २० वर्षीय आर्यन चौधरी सामान्य अवस्थामा रहेका छन् भने अर्का सवार २८ वर्षीय आशिष चौधरीलाई सामान्य चोट लागेको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ। टिपर चालक कोशी गाउँपालिका–३ निवासी ४८ वर्षीय लाल मोहम्मद मियाँ प्रहरीको सम्पर्कमा रहेका छन् भने टिपर घटनास्थलमै रहेको छ।
प्रारम्भिक अनुसन्धानका अनुसार मोटरसाइकल चालकले तीव्र गतिमा चलाउँदा सडकमा ध्यान नदिएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।