विराटनगरमा दुर्लभ नीलगाई मृत फेला

न्युजलय १९ असोज २०८३, सोमबार ११:३६ मा प्रकाशित

विराटनगर । विराटनगरमा दुर्लभ नीलगाई मृत अवस्थामा फेला परेको छ। विराटनगर महानगरपालिका–५ कलरुवास्थित धान खेतमा आइतबार नीलगाई मृत फेला परेको मोरङ प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मृत अवस्थामा नीलगाई देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। आइतबार दिउँसो नीलगाई मृत अवस्थामा रहेको सूचना प्राप्त भएको प्रहरीले जनाएको छ । 

मृत नीलगाईबाट दुर्गन्ध आउन थालिसकेको प्रहरीको भनाइ छ। वन कार्यालयको प्राविधिक र वन्यजन्तु विज्ञसहितको टोलीले घटनास्थलको मुचुल्का उठाएपछि खाल्डो खनेर घटनास्थलनजिकै नीलगाईलाई गाडिएको छ। नीलगाई कहिले मरेको हो भन्ने यकिन हुन सकेको छैन। स्थानीयले भने शनिबार राति नै मरेको हुन सक्ने आशंका गरेका छन्।

नीलगाई आफैँ मरेको वा कसैले मारेको हो भन्ने यकिन छैन। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। नीलगाई एसियाकै सबैभन्दा ठूलो मृग प्रजातिको र शाकाहारी वन्यजन्तु हो। घाँस, पात र झारपात यसको मुख्य आहारा हुन्।

विराटनगरको बस्तीनजिकै नीलगाई मृत भेटिनुको कारण भने खुलेको छैन। थप कुरा अनुसन्धानपछि पत्ता लाग्ने वन कार्यालयले जनाएको छ।