भुटानलाई हराउँदै नेपाल साफ यू–१७ को सेमिफाइनलमा

न्युजलय २३ भदौ २०७९, बिहिबार १२:३८ मा प्रकाशित

काठमाडौं । नेपालले श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । नेपालले गएराति समूह ‘बी’ अन्तर्गतको खेलमा भुटानलाई २–१ ले हराउँदै विजयी सुरुवात गरेको हो । 


कोलम्बोस्थित रेस कोर्स ग्राउण्डमा नेपालाई जित दिलाउन युनेश बुढाथोकी र सिमान्त थापाले एकरएक गोल गर्दा भुटानका जेत्सुन दोर्जीले एक गोल फर्काए । 


खेलको १३ औं मिनेटमा युनेशले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ५७ औं मिनेटमा सिमान्तले गोल गर्दा नेपाल २–० ले अघि रह्यो ।

 

६८ औं मिनेटमा दोर्जीले गोल गर्दै भुटानलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त नबन्दा नेपालले २–१ को रोमाञ्चक जित निकाल्यो ।

 

यो नेपालको जितसँगै नेपाल र भारतले  सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन् । लगातार दुई खेल हारेको भुटान भने प्रतियोगिताबाट बाहिरिएको छ ।  


जितसँगै १ खेलमा ३ अंक जोडेको नेपाल दोस्रो स्थानमा रहँदा दुवै खेलमा पराजय बेहोरेको भुटान अंकविहीन रह्यो । भारत १ खेलमा ३ अंक जोडेर समूहको शीर्ष स्थानमा छ ।   


अब नेपालले समूह चरणको दोस्रो तथा अन्तिम खेलमा शुक्रबार भारतको सामना गर्नेछ । यस खेलले समूह विजेता र उपविजेता तय गर्नेछ ।