इनरुवा । सुनसरीको कोशी गाउँपालिका–३ का गुलाबी मुखियाले छोरीको जङ्गली अर्नाले आक्रमण गरी ज्यान लिएको छ ।
मुखिया परिवारले छोरी रञ्जुकुमारीको विवाहका लागि घर सिँगारेर चिटिक्क पार्नुका साथै आफन्त र गाउँले दाजुभाइलाई निम्ता पनि गरिसकेको थियो ।
सोमबारको बिहेका लागि आइतबारदेखि नै आफन्त घरमा आउन थालिसकेका थिए। छरछिमेकी पनि विवाहको अन्तिम तयारीमा जुटेका थिए भने आगन्तुक एवं जन्तीलाई भोजभतेरका लागि आवश्यक सबै सामग्रीको जोहो भइसकेको थियो ।
गुलाबीकी २१ वर्षीया छोरीलाई कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएको जङ्गली अर्नाले आक्रमण गरी ज्यान लिएपछि गुलाबीको परिवारमा बज्रपात भएको हो।
रञ्जुको मृत्युको खबर सुनेपछि गुलाबी मुखियाको परिवार मुर्छित छ। गुलाबी परिवारले माछा मारेर जीविकोपार्जन गर्दै आएको छ ।
घरबाट करिब डेढ किलोमिटर पश्चिम कोशी किनारमा घाँस काट्न पुगेकी रञ्जुलाई आइतबार अर्नाले आक्रमण गरेको थियो। सानो झुण्डमा रहेको अर्नाले भाग्ने क्रममा आक्रमण गरेको स्थानीय हरिराम यादवले बताए।
घाइते भएर ढलेपछि पनि अर्नाले आक्रमण गरिरहेकाले रञ्जुको घटनास्थलमै निधन भएको थियो।
पीडित परिवारलाई क्षतिपूर्ति दिने कोशीटप्पु वन्यजन्तु आरक्षले आश्वासन दिएको छ। आरक्षले वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका परिवारलाई जनही रु १० लाख उपलब्ध गराउँदै आएको छ।