इटहरी । हिसान सुनसरीमा आबद्ध २३ वटा शिक्षालयहरुले बाढी पीडितहरुका लागि ५६ लाख २८ हजार ६ सय ५२ रुपैयाँ दिने भएका छन् । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी हिसान केन्द्रिय समितिलाई उक्त रकम हस्तान्तरण गर्ने हिसान सुनसरीका अध्यक्ष सागर भट्टराईले जानकारी दिएका छन् ।
भट्टराईका अनुसार इटहरी, धरान तथा रामधुनी–इनरुवा क्लस्टरमा रहेका शिक्षालयबाट उक्त रकम संकलन भएको हो । इटहरीबाट मात्रै ५२ लाख ९३ हजार ६ सय ४२ रुपैयाँ संकलन भएको छ । जसमा सबैभन्दा बढी विश्व आदर्श एकेडेमीले १२ लाख ५५ हजार रुपैयाँ सहयोग गरेको छ ।
सुष्मा सेकेन्डरी स्कुल एन्ड कलेजले ११ लाख २९ हजार ७ सय ५५ रुपैयाँ, ग्रीन पिस इटहरी नमुना कलेजले ८ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ र कस्तुरी कलेजले ८ लाख १५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका छन् । त्यस्तै कोशी सेन्ट जेम्स कलेजले ५ लाख ५० हजार, प्रिमियर कलेजले ३ लाख, लर्ड बुद्ध इन्टरनेसनल स्कुलले १ लाख ५५ हजार, पूर्वाञ्चल सेकेन्डरी स्कुलले १ लाख १५ हजार र सीबी रेस सेकेन्डरी स्कुलले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन् ।
धरान क्लस्टरबाट १ लाख ६० हजार १० रुपैयाँ संकलन भएको छ । जसमा धरान सेकेन्डरी स्कुलले सबैभन्दा बढी ७५ हजार रुपैयाँ सहयोग गरेको छ ।
रामधुनी–इनरुवा क्लस्टरबाट १ लाख ७५ हजार रुपैयाँ संकलन भएको छ । जसमा लर्ड बुद्ध इन्टरनेसनल स्कुलले १ लाख ५५ हजार सहयोग गरेको छ ।
यस्तै कार्यक्रममा बोल्दै हिसान केन्द्रिय उपाध्यक्ष मुकुन्द घिमिरेले बाढी पीडित एक हजार विद्यार्थीलाई पढाइदिने घोषणा गरेका छन् । जुनसुकै तहका भएपनि विद्यार्थीहरुलाई शिक्षा निःशुल्क गर्ने जानकारी दिए । इटहरी बस्ने व्यवस्था भएमा पढाइदिने बताए ।
कार्यक्रममा बोल्दै विश्व आदर्श एकेडेमीका अध्यक्ष लेखनाथ घिमिरेले दुःखद घडीमा सहयोग गर्नु सबैको कर्तव्य भएको बताउँदै अरुलाई पनि सहयोग गर्न आग्रह गरे ।