इटहरी । १६ औं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको अन्तिम क्वाटरफाइनल खेलमा प्लानिङ ब्वाइज युनाइटेड विजयी भएको छ ।
बिहीबार राति सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा युनाइटेड खर्साङ फुटबल क्लब युकेएफसीलाई ३–१ गेल अन्तरले पारजित गर्दै प्लानिङ ब्वाइज अन्तिम चारमा प्रवेश गरेको हो ।
प्लानिङ ब्वाइजको जीतमा कप्तान फागुराम थारुले २ तथा धिरेन्द्र शाहले १ गोल गरे । खेलको पाँचौ मिनेटमा फागुरामले पेनाल्टी मार्फत गोल गरेर टिमलाई सुरुवाती अग्रता दिलाएका थिए ।
युकेएफसीका दिवश रोयले धिरेन्द्रलाई डि–एरियामा फल्ड गरेपछि फिफा रेफ्री उमेश बिडारीले प्लानिङ ब्वाइजलाई पेनाल्टी प्रहार गर्ने अवसर दिएका थिए । उक्त अवसरलाई फागुरामले सहजै गोलमा परिणत गरे ।
शुक्रबारको पहिलो सेमिफाइनल खेलमा युवा समाज र साविक विजेता मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
फाइनल खेल वैशाख ७ गते हुनेछ । विजेताले नगद १० लाख र उपबिजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।