धरान । धरानमा पिकअपबाट गाँजा तस्करी गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पिकअप चालक धरान –२० बस्ने ३४ वर्षीय कमल राई, सहचालक धनकुटा साँगुरीगढी गाउँपालिका –९ बस्ने २० वर्षीय राजु विश्वकर्मा र गाडीमा सवार धरान २० बस्ने २३ वर्षीय प्रदीप राई रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बुधबार धरान –२० खैरे खोलास्थित अस्थाई प्रहरी चौकी बिष्णुपादुकाबाट प्रहरी सहायक निरीक्षक दयाराम खतिवडाको कमाण्डमा खटिएको गस्ती टोलीले धनकुटाबाट धरानतर्फ आउदै गरेको को १ ज ३१५८ नम्बरको पिकअप गाडीबाट गाँजा बरामद गरेको हो ।
प्रहरीले गाडीलाई रोक्न खोज्दा तत्काल भागेको र पिछा गर्दै जाँदा एक किलोमिटर टाढा गाडी रोकेर गाडीभित्र रहेको बोरा भीरबाट फ्याल्दै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले घटनास्थलबाट चार बोरा गाँजा बरामद गरेको छ । उक्त गाँजाको तौल ५६ केजी चार सय ५० ग्राम रहेको छ ।
पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।