कोशीमा सङ्गीत शिक्षाको सम्भावना छ, सरकारले आधार बनाइदिनुपर्छ : विज्ञ तथा कलाकार

न्युजलय १३ असार २०८३, शनिवार ०३:४१ मा प्रकाशित

इटहरी । कोशी प्रदेशमा सङ्गीत शिक्षाको ठूलो सम्भावना रहेको भन्दै यस क्षेत्रका विज्ञ तथा कलाकारहरूले सरकारले आवश्यक नीति बनाए कला संरक्षणसँगै रोजगारीका अवसरसमेत सिर्जना हुने बताएका छन्।

सङ्गीत साधना प्रतिष्ठानले इटहरीमा आयोजना गरेको सङ्गीत शिक्षासम्बन्धी छलफल कार्यक्रममा बोल्दै अनुसन्धानकर्ता डा. भक्त राईले कोशी प्रदेशमा सङ्गीत शिक्षाको आवश्यकता र महत्वबारे प्रकाश पारे। उनले सङ्गीत शिक्षाको अनिवार्यताबारे गम्भीर अध्ययन हुनुपर्ने बताए।

उनले संस्कृति मन्त्रालयले गर्नुपर्ने बहस सङ्गीत साधना प्रतिष्ठानले सुरु गरेको उल्लेख गर्दै विद्यालयको पाठ्यक्रममा सङ्गीत समावेश गर्न सके नेपालको सङ्गीत क्षेत्रको विकासले नयाँ गति लिने बताए।

डा. राईका अनुसार कोशी प्रदेशमा करिब एक सय जातजातिको बसोबास छ। जसमध्ये झगड, उराउ, लेप्चा, धिमाल, मेचे, कोचेजस्ता दुई दर्जनभन्दा बढी जाति कोशीमै सीमित छन्। यस्ता समुदायका मौलिक सङ्गीत र संस्कृतिलाई संरक्षण गर्न स्थानीय पाठ्यक्रम निर्माण आवश्यक रहेको उनको भनाइ थियो।

उनले सङ्गीत शिक्षाका लागि पूर्वाधार, आवश्यक वाद्यवादनका सामग्री र पाठ्यक्रमसँगै समुदायका दक्ष व्यक्तिबाट परम्परागत सङ्गीत सिकाउने व्यवस्था गर्नुपर्ने बताए। यसलाई आयआर्जनसँग जोड्दै प्रत्येक पालिकाका कम्तीमा तीन विद्यालयमा सङ्गीत शिक्षा सञ्चालन गर्नुपर्ने र स्थानीय सरकारले कलाकारलाई उचित पारिश्रमिकसहित प्रशिक्षकका रूपमा नियुक्त गर्नुपर्ने सुझाव दिए।

सङ्गीत साधना प्रतिष्ठानका महासचिव राजु केसीले नेपाली सङ्गीतलाई विश्वस्तरमा पुर्‍याउन आधुनिक तथा गुणस्तरीय सङ्गीत शिक्षाको आवश्यकता रहेको बताए। उनका अनुसार हाल नेपालका १८ विश्वविद्यालयमध्ये त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयमा मात्र सङ्गीत विषय पढाइ हुन्छ।

उनले त्रिभुवन विश्वविद्यालयमा अझै पुरानै पाठ्यक्रमबाट अध्यापन भइरहेको उल्लेख गर्दै कक्षा ९ देखि १२ सम्म प्राविधिक तथा व्यावसायिक धारमा सङ्गीत विषय सञ्चालनका लागि प्रतिष्ठानले पहल गरिरहेको बताए। तर शिक्षा ऐनका कारण कक्षा ९ देखि मात्र विषय सञ्चालन गर्न नसकिने र कक्षा १ देखि नै पढाउनुपर्ने व्यवस्था बाधक बनेको उनको भनाइ थियो।

विद्यालय तहमा 'सिकाइ, अभिव्यक्ति र कला' विषय भए पनि त्यसका लागि दक्ष शिक्षकको अभाव रहेको उनले बताए। गैरनाफामूलक संस्थालाई कक्षा ९ माथि प्राविधिक शिक्षा सञ्चालन गर्न कानुनी व्यवस्था भए सङ्गीत साधना प्रतिष्ठानले पनि औपचारिक पठनपाठन सुरु गर्न सक्ने उनको भनाइ थियो। उनले स्वायत्त सङ्गीत प्रतिष्ठान स्थापना गरी राज्यले सञ्चालन गर्नुपर्ने तथा पूर्वाञ्चल विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहमा समेत सङ्गीत शिक्षा सुरु गर्न सकिने धारणा राखे।

सङ्गीतकार बसन्त मुकारुङले देशको नेतृत्व कमजोर हुँदा कलाकार र सङ्गीतकर्मी विदेश पलायन भइरहेको बताए। नेपाली सङ्गीत विश्वस्तरीय रहेको उल्लेख गर्दै उनले समयअनुसार पाठ्यक्रम परिमार्जन गरी विद्यालय शिक्षामा समावेश गर्नुपर्नेमा जोड दिए।

सङ्गीतकार कुशेश्वर राईले सङ्गीत शिक्षालाई सम्भावनाको विषय मात्र नभई आवश्यकता कै रूपमा लिनुपर्ने बताए। उनले राज्यले सङ्गीत क्षेत्रलाई बेवास्ता गरेको आरोप लगाउँदै पुरस्कार मागेर लिनुपर्ने संस्कृतिले साधनाको अपमान गरेको टिप्पणी गरे। परम्परागत सङ्गीत र वाद्यवादन लोप हुने अवस्थामा पुगेको उल्लेख गर्दै सङ्गीत शिक्षाको विस्तारले रोजगारी र आम्दानी दुवै बढ्ने विश्वास व्यक्त गरे।

गीतकार तथा सङ्गीतकार बालकृष्ण सिग्देलले पनि सङ्गीत शिक्षाको पर्याप्त सम्भावना रहेको भन्दै यसको विस्तारका लागि सबै पक्षले पहल गर्नुपर्ने बताए।

कार्यक्रममा सहभागी अन्य सङ्गीतकार तथा कलाकारहरूले पनि सङ्गीत क्षेत्रका समस्या, चुनौती र सम्भावनाबारे आ–आफ्ना धारणा राखेका थिए।

सङ्गीत साधना प्रतिष्ठानले इटहरीमा सङ्गीत विद्यालय सञ्चालन गर्ने उद्देश्यसहित भवन निर्माणको काम अघि बढाइरहेको छ ।