इटहरी । नेकपा एमाले सुनसरीको आठौँ जिल्ला अधिवेशन शनिबारबाट सुरु भएको छ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलले अधिवेशनको उद्घाटन गरेका हुन् ।
उद्घाटनपछि बोल्दै पोखरेलले पार्टीलाई चलायमान बनाउन सक्ने नेतृत्व आवश्यक पर्ने बताए । उनले जनताका विषयलाई बोकेर जानुपर्नेमा समेत जोड दिए । मिसन ८४ लाई गति दिन पार्टीलाई बलियो बनाउनुपर्नेमा समेत उनको जोड थियो ।
यस्तै नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व मुख्यमन्त्री भीम आचार्य र शेरधन राईले सुनसरी अन्य जिल्लाहरू भन्दा पृथक विशेषता बोकेको जिल्ला भएको बताउँदै सुनसरीलाई लाल किल्ला बनाउनुपर्नेमा जोड दिए ।
कोशी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमाले स्थायी कमिटी सदस्य हिक्मतकुमार कार्कीले पार्टीको विधि प्रक्रिया र पद्धतिलाई सबैले अँगालेर जानुपर्ने बताए । उनले कार्यक्रर्ताहरुलाई बजेट नीति तथा कार्यक्रममा सुझाव दिन पनि आग्रह गरे ।
सर्वसम्मत नभएपछि चुनाव
नेकपा एमाले सुनसरीको नयाँ नेतृत्वका लागि सर्वसम्मत प्रयास भएपनि सफल नभएपछि चुनाव हुने भएको छ । सुनसरी अध्यक्षका लागि निलम खनाल र खेमराज पोख्रेल चुनावमा भिड्ने भएका छन् ।
अध्यक्षको आकाङ्क्षी खेमराज पोख्रेल यसअघि सातौँ जिल्ला अधिवेशनमा पनि रेवती रमण भण्डारीसँग पराजित भएका थिए । निलम खनाल अहिले उपाध्यक्ष छन् । खनाललाई पार्टीको संस्थापन पक्षको साथ रहेको छ ।