काठमाडौँ । हालै आएको बाढीका कारण इन्टरनेट सेवा प्रभावित भएका ग्राहकलाई सुबिसुले थप ७ दिनको सेवा अवधि उपलब्ध गराउने भएको छ।
भदौ १० गते आएको भीषण बाढीका कारण विशेषगरी भोटेकोशी तथा त्रिशूली नदी आसपासका क्षेत्रमा क्षति पुगेपछि बट्टार, चरौंदी, चौघडा, देवीघाट, धादिङ, हुङ्दीखोला, खाल्टे, खानीखोला, गल्छी, धार्के र मलेखुलगायत क्षेत्रमा सुबिसुको इन्टरनेट सेवा प्रभावित भएको कम्पनीले जनाएको छ।
बाढीका कारण सेवा प्रभावित भएका अवधिमा कनेक्सनको म्याद समाप्त भएका ग्राहकलाई थप ७ दिनको सेवा अवधि उपलब्ध गराइएको सुबिसुले जनाएको छ। कम्पनीका अनुसार यसबाट सेवा प्रभावित ग्राहकको सेवा अवधि प्रभावित नहोस् भन्ने उद्देश्य राखिएको छ।
सेवा पुनःस्थापनाका सम्बन्धमा सुबिसुका प्रमुख सञ्चालन अधिकृत सुबास अधिकारीले प्रभावित क्षेत्रमा नेटवर्क तथा इन्टरनेट सेवा पुनःस्थापनाको काम निरन्तर भइरहेको बताए ।
उहाँका अनुसार स्थानीय अवस्था र पहुँचलाई ध्यानमा राख्दै प्राविधिक टोलीहरू सेवा यथाशीघ्र पुनःस्थापना गर्न फिल्डमा खटिएका छन्। सेवा पुनःस्थापनासँगै प्राविधिक टोलीको सुरक्षालाई समेत उच्च प्राथमिकतामा राखिएको बताए ।
सुबिसुले प्रभावित क्षेत्रमा इन्टरनेट सेवा यथाशीघ्र पुनःस्थापना गर्न आफू प्रतिबद्ध रहेको जनाएको छ।