काठमाडौं । सन्दीप लामिछानेले करिब ६ महिनापछि अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गर्दैछन्।
विश्वकप लिग–२ क्रिकेटअन्तर्गत मङ्गलवारदेखि घरेलु मैदानमा सुरु हुने त्रिदेशीय एकदविशीय अन्तर्राष्ट्रिय शृङ्खलामा सन्दीप नेपाली टोलीका महत्त्वपूर्ण सदस्य रहने छन् ।
गत असोज २० गते विदेशबाट फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका सन्दीपलाई पाटन उच्च अदालतले २० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो।
नेपाल क्रिकेट संघ–क्यानले धरौटीमा छुटेपछि निलम्बन फुकुवा गर्दै सन्दीपलाई राष्ट्रिय टोलीमा बोलाएको हो। सन्दीप पक्राउ पर्नुअघि अन्तर्राष्ट्रिय क्रिकेटमा निरन्तर उच्च लयमा रहेका थिए।
सन्दीप सन् २०१६ देखि नेपालको सिनियर राष्ट्रिय टोलीबाट खेलिरहेका छन्। उनले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा ३० खेलका २९ पाली खेल्दै ६९ विकेट लिएका छन्। उनी सबैभन्दा बढी एकदिवशीय अन्तर्राष्ट्रिय विकेट लिने नेपाली बलर हुन्।