त्यसपछि सन्दीपले भनेका थिए, ‘बरु म कसैसँग हात मिलाउँदिनँ’

न्युजलय ६ फाल्गुण २०७९, शनिवार ०८:५३ मा प्रकाशित

काठमाडौं । नेपाली क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय स्तरमा नकारात्मक सन्देश जाने गरी मिडियावाजी गरिएको भन्दै नेपाल क्रिकेट संघले दुःख व्यक्त गरेको छ । केही मिडियामा सन्दीप र स्कटल्यान्डका खेलाडीहरुको ‘नो ह्यान्डसेक’ लाई ‘ट्विस्ट’ गरेर गलत समाचार प्रकाशित गरिएको क्यानका अधिकारीहरुले प्रतिक्रिया दिएका हुन् ।

स्रोतका अनुसार हिजो स्कटल्यान्ड र नेपालको म्याचभन्दा अगाडि सन्दीपसँग स्कटिस टिमका म्यानेजरको नेपालकै ड्रेसिङ रुममा करिब आधा घन्टा सौहार्द कुराकानी भएको थियो । स्कटल्याण्डका टिम मेनेजरले लामिछानेसँग जोडेर स्कटल्यान्डको बोर्डविरुद्ध दुष्प्रचार गर्न सक्ने भन्दै टिमका केही सदस्यहरुले चिन्ता व्यक्त गरेको उल्लेख गरेका थिए ।

जवाफमा सन्दीपले ‘एउटा खेलाडीले पनि आफूसँग हात मिलाउन इन्कार गरे त्यो आफ्नो लागि अपमानजनक हुने बताएका थिए । एक जना खेलाडीलाई पनि समस्या हुँन्छ भने बरु आफूले नै कसैसँग पनि ह्यान्डसेक नगर्ने अडान लिएका थिए ।

मैदानमा पनि त्यस्तै भएको थियो । स्कटल्याण्ड खेलाडीहरुले हात मिलाउन खोज्दा बरु सन्दीप आफैले हाँसेर टारिदिएका थिए ।यही घटनालाई नेपालका केही मिडियाले गलत तरिकाले चित्रण गरेर दुष्प्रचार गरेको क्यानका एक पदाधिकारीको गुनासो छ । यता ‘स्कटल्यान्ड क्रिकेट बोर्डबाट पनि आफूलाई कुनै पनि इमेल नआएको नेपाली क्रिकेट टोलीले जानकारी दिएको छ ।