पथरीशनिश्चरे बालिका हत्याः प्रेम सम्बन्धपछि विवाह अस्वीकार गर्दा हत्या

न्युजलय २३ फाल्गुण २०८०, बुधबार ११:५५ मा प्रकाशित

मोरङ । मोरङको पथरीशनिश्चरेमा १५ वर्षीया बालिकाको निर्मम हत्या गर्ने पुरुषलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

हत्यामा संलग्न मोरङको ग्रामथान गाउँपालिका–४ का ३८ वर्षीय धीरेनकुमार चौधरीलाई मोरङ प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको हो ।

खोटाङको ऐँसेलुखर्क गाउँपालिका ६ सल्ले घर भइ पथरीशनिश्चरे नगरपालिका–७ लामा टोलीस्थित दाजु विनोद राईको घरमा बस्दै आएकी १५ वर्षीया ज्ञानमति थुलुङ राईको सोमबार राति निर्मम हत्या भएको थियो ।

हत्याको प्रमुख कारण प्रेम सम्बन्ध रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मोरङ प्रहरीका अनुसार सोमबार राति शौचालय गएका बेला हतियार प्रहार गरिएकी बालिकाको घटनास्थलमै मृत्यु भएको थियो ।

हत्यापछि फरार बनेका धीरेनलाई मंगलबार दिउँसो बेलबारीको भाउन्नेस्थित जंगलबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । ज्ञानमतिको हत्या गरेको धीरेनले स्वीकार गरेका छन् ।

धीरेन र बालिकाबीच करिब डेढ वर्षअघि सामाजिक सञ्जालमार्फत चिनजान भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र इमोमार्फत चिनजान भएपछि दुवैजना प्रेम सम्बन्धमा रहेका थिए ।

धीरेनकी एक श्रीमती र १४ वर्षीय छोरा छन् ।

श्रीमती ४ वर्षदेखि वैदेशिक रोजगारीका सिलसिलामा दुबईमा बस्दै आएको खुलेको छ भने श्रीमतीले छोरालाई पनि दुबई नै लगेकी छन् ।

प्रहरीका अनुसार धीरेन र उनकी श्रीमतीबीचकोे सम्बन्धमा दरार उत्पन्न भएको थियो ।

श्रीमतीसँग राम्रो सम्बन्ध नभएपछि सामाजिक सञ्जालमार्फत बालिकासँग नजिकिएका धीरेनले प्रेम र बिहेको बहानामा अन्ततः उनैको बीभत्स हत्या गरेको पाइएको प्रहरीले जनाएको छ । 

घटनाबारे थप अनुसन्धानसमेत अगाडि बढाइएको मोरङ प्रहरीले जनाएको छ ।