इटहरीमा निरज कोइरालाको बाको फोटो लोकार्पण

न्युजलय ३० कार्तिक २०७९, बुधबार ०१:५९ मा प्रकाशित

इटहरी । इटहरीमा लघुकथा सङ्ग्रह बा को फोटो पुस्तक लोकार्पण गरिएको छ । अच्छा राई रसिक प्रतिष्ठानको आयोजनामा गरिएको कार्यक्रममा उक्त लघुकथा संग्रह लोकार्पण गरिएको हो । 

प्रतिष्ठान अध्यक्ष प्राध्यापक लेखनाथ घिमिरेको सभापतीत्वमा भएको कार्यक्रम प्रा. डा. टङ्क न्यौपानेको प्रमुख आतिथ्यतामा गरिएको थियो ।

कार्यक्रममा प्रतिष्ठान उपाध्यक्ष केशव सुनामले स्वागत मन्तब्य राख्नुभयो । कार्यक्रममा झोराहाट नाट्य समूह अध्यक्ष भरत गुरागाइँ बर्बरिक, डा. रमेश घिमिरे र इटहरी कला साहित्य उत्थान समूह अध्यक्ष कृष्णविनोद लम्साल लगायतले शुभकामना मन्तब्य राखेका थिए । पुस्तकको रचना विश्लेषण बरिष्ठ लघुकथाकार डा. खेमराज खनाल र अग्रज लघुकथाकार सरन राईले गरेका थिए । 

कार्यक्रममा लघुकथाकारहरु रमेन्द्रमुनि कोइराला, विष्णु भण्डारी आचार्य, अनु विज्ञाति, सीता रेग्मी, रोशन पराजुली, शारदा दहाल भण्डारी, शुशिला सुवेदी, श्रीप्रसाद पोख्रल तथा कृष्ण गौतमसमेत उपस्थित भई लघुकथा वाचन तथा विश्लेषण गरिएको थियो । 

कार्यक्रममा बोल्दै विश्लेषक डा. खेमराज खनालले समाज विविध क्षेत्र समेटिएको बाको फोटोले भाषा, संस्कृति, प्रकृति, वातावरण, शिक्षा, राजनीति, समाज लगायतको यथार्थता केलाउँदै समाज सुधार गरी आदर्श समाजको परिकल्पना गरेको बताए । लघुकथा सङ्ग्रह उम्दा रहेको अर्का बक्ता अग्रज लघुकथाकार सरन राईले बताए । यस्तै बरिष्ठ लघुकथा बिश्लेषक रमेन्द्र कोइरालाले इटहरीमा कविता गोष्ठी, मुक्तक विमोचन तथा गजल महफिलहरु प्रशस्त हुँदै गएको र  पहिलो पटक लघुकथाको मियो गाडिएको प्रतिक्रिया दिए ।

सुनसरी, मोरंगलगायत विभिन्न जिल्लाबाट आएका कलाकार, साहित्यकार र सर्वसाधारणहरुको खचाखच उपस्थिति रहेको कार्यक्रममा राष्ट्रिय कविता प्रतियोगिता प्रथम कवि टीका आत्रेय, इटहरी बौद्धिक समाज सदस्य डा. तारा निरौला, डियर कल्याण साहित्य प्रतिष्ठान अध्यक्ष विनोद विवश, सिर्जनामा इनरुवा अध्यक्ष लीलानाथ सिलवाल, कवि मुक्ति पोख्रेल, कवि रोहिणी रसिक, कवि सिर्जना नेपाल, कवि वीरेन्द्र विवशी, प्रदेश लघुकथा पुरस्कार प्राप्त लघुकथाकार बिष्णु भण्डारी लगायत बिशिष्ठ ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।