उर्लाबारीमा छुरा प्रहारबाट एक युवकको हत्या

न्युजलय १६ साउन २०८१, बुधबार ०४:०६ मा प्रकाशित

मोरङ । मोरङको उर्लाबारीमा छुरा प्रहार गरी एकजना युवकको हत्या गरिएको छ ।

छुरा हानेर उर्लाबारी नगरपालिका ४ का अन्दाजी २१ वर्षीय कुशल दाहालको हत्या गरिएको प्रहरीले जनाएको छ । उनीमाथि उर्लाबारी ५ मा मंगलबार साँझ छुरा प्रहार भएको प्रहरीको भनाइ छ ।

 घटनामा गम्भीर घाइते भएका दाहालको उपचारका लागि झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पताल लगिएको थियो । उपचारका क्रममा चिकित्सकले राति  मृत घोषित गरेको मोरङ प्रहरीले जानकारी दिएको छ ।

उनका अनुसार घटना स्थानीय सुवास तामाङको घरमा भएको हो । हत्यामा संलग्नको खोजी कार्य भइरहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।