काठमाडौँ । पाकिस्तानको बलुचिस्तान प्रान्तको खुजदारमा बुधबार बिहान स्कुल बसमा भएको आक्रमणमा तीन बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ। दुई दर्जनभन्दा बढी घाइते भएका छन्।
घाइतेहरूलाई अस्पताल लगिएको छ। विस्फोटले बस पूर्णरूपमा ध्वस्त भएको छ भने नजिकैको सानो कारमा पनि क्षति पुगेको थियो।
विस्फोट रिमोट कन्ट्रोल वा आत्मघाती आक्रमणकारीबाट भएको हो भन्ने यकिन भइसकेको छैन। प्रहरीका अनुसार बसमा करिब ४० बालबालिका थिए।
आक्रमणको जिम्मेवारी कसैले लिएको छैन। तर यसलाई बलुच अतिवादीसँग जोडिएको छ। केन्द्र सरकारमा गृहमन्त्री मोहसिन नकवीले आक्रमणको निन्दा गर्दै बालबालिकाको मृत्युप्रति समवेदना व्यक्त गरेका छन्।