विराटनगरमा घर तोडफोड गर्ने दुई जना पक्राउ

न्युजलय २१ कार्तिक २०७८, आइतबार ०८:२८ मा प्रकाशित

विराटनगर । विराटनगरस्थित जिल्ला प्रहरी कार्यालय–मोरङ नजिकैको एक घरमा केही युवाहरुले तोडफोड गरेका छन् ।


शनिबार राति करिब १० बजे विराटनगर १ पोखरिया शान्ति चोकस्थित देविका मास्केको घरमा तोडफोड हुँदा टिनको घेराबेरा सहित दुई वटा झ्यालको सीसा फुटेको छ, भने मुल ढोका र मिटर बक्समा क्षति पुगेको छ ।


घटनाको केही समयअघि नजिकैको चोकमा युवाहरुको दुई समूह बीच झगडा भएको र त्यसमध्येको केही युवाहरु मास्केको घरमा लुकेको आशंकामा अर्को समूहले तोडफोड गरेको बताइएको छ ।


घर तोडफोडमा संलग्न भएको आशंकामा दुई जना युवालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उक्त घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।