सुनसरी । सुनसरीको रामधुनी मन्दिरमा व्यवस्थापन समिति र महन्त बिचको विवाद चर्किएको छ । अदालतको आदेशसमेत समितिले नमानेको, मन्दिरमा जथाभावी कंक्रिटका संरचना बनाएको, पुरानो रुखविरुवा र गाई मासेको भन्दै रामधुनी मठका महन्त र साधुहरु विरोधमा उत्रिएका छन् ।
व्यवस्थापन समितिले मन्दिरमा रहेका साधुसन्तलाई खेदाउने योजना बनाएको समेत आरोप लगाएको छ । रामधुनी बाबा बनखण्डी मन्दिरका महन्त काशीदास उदासीका अनुसार व्यवस्थापन समितिकै हस्तक्षेपको कारण तीन दिन रामधुनी मन्दिरमा पुजा पनि अवरुद्ध भएको खुलेको छ ।
‘पुस १, २ र ३ गते तीन दिन व्यवस्थापन समितिले मन्दिरमा ताला लगाएर पुजा गर्न पनि दिएन,’ महन्थ उदासीले भने, ‘हामीलाई नसोधी यहाँको रुखविरुवा काट्ने र गाईवस्तु बेच्ने काम गरियो र हामीलाई पनि निकालिदिने धम्की दिइयो ।’ उनले व्यवस्थापन समितिले दाउरासमेत नदिएको बताए । त्यतीमात्र होइन, केही समयअघि दानपत्रमा जम्मा भएको चार लाख रुपैया हिनामिना गरेको आरोपमा गुठीका पदाधिकारीहरुलाई इलाका प्रहरी कार्यालयमा दिनभर नियन्त्रणमा राखिएकोसमेत गुठी उनले जानकारी दिए । समितिले चोरी आरोप लगाएपछि महन्तले सबै दानपत्र ल्याएर कोठामा थुनिदिएका छन् । मन्दिरमा रहेका साधुसन्तको खानपान र खर्चमा समितिले अंकुश लगाएको उनीहरुको आरोप छ ।
गुठी संस्थानले उदासीलाई महन्थ नियुक्त गरेको छ । गत वैशाखमा फेरी पाँच वर्षका लागि उनलाई महन्थ नियुक्त गरेको पत्र दिएको छ । सँगै दानपत्र चलाउने, पुजा जात्रा चलाउने, मठ मन्दिरका कामकारवाही पारदर्शी गर्ने, मठको आम्दानी खर्चको लेखा परिक्षण गराउने आदि जिम्मेवारी दिएको छ । तर त्यसमा लामो समयदेखि व्यवस्थापन समिति हावी भएर आफूहरुलाई नै निकाल्न खोजेपछि विरोधमा उत्रिएको उनले बताए । मन्दिरमा उदासी सम्प्रदायका साधु सन्तहरुले तीन सय वर्षदेखि पुजा आजा चलाउँदै आएको साधुहरुले गठन गरेको व्यवस्थापन समितिका अध्यक्ष महिनारायण चौधरीले जानकारी दिए ।
गुठीबाट मन्दिर सञ्चालन हुने स्पष्ट कानुनी व्यवस्था हुँदा हुँदै पनि गैर कानुनी रूपमा गठन भएको मन्दिर व्यवस्थापन समितिको नाममा हुल हुज्जत गर्ने, पुजारीलाई धम्काउने, मन्दिरका लागी आवश्यक दूध, धुनी बाल्ने दाउरा लगायतका सामाग्री नदिने लगायतका दुष्प्रयास भइरहेको गुठीका पदाधिकारीको आरोप छ ।
यता रामधुनी बाबा वनखण्डी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष डिल्ली कार्कीले भने आरोपहरुको खण्डन गरेका छन् । उनले आफूहरु मन्दिरको व्यवस्थापन र विकासमा निरन्तर लागिरहेको जानकारी दिए । उनले केही रुखको हाँगा काटिएको बताउँदै मन्दिरको रकम अनियमितता गर्न नपाएपछि महन्तले आरोप लगाएको दावी गरे ।
गुठी संस्थानले २०७९ वैशाख ४ गते कार्कीको अध्यक्षतामा तीन वर्षका लागि बनेको उक्त समितिलाई मान्यता दिएको देखिन्छ । कतिपय अवस्थामा गुठी र समितिलाई गुठी संस्थानले दिएको जिम्मेवारीसमेत उस्तैछ । त्यसैले मन्दिरको आम्दानी, दानपत्र कसले चलाउने र त्यहाँ हुने विकास निर्माणलाई कसले नियमन गर्ने भन्नेमा विवाद देखिएको छ ।
विवाद जे जस्तो भएपनि मन्दिरको पुजा रोकिनु, कृत्रिम कंक्रिटका संरचनाले मन्दिर कुरुप हुनु, गाईवस्तु र पुराना बोटविरुवाको संरक्षण नहुनुलाई भने स्थानीयले अस्वभाविक मानेका छन् ।