श्रीमतीको शव घरभित्र, श्रीमान फरार

न्युजलय २१ बैशाख २०८१, शुक्रबार ०१:३७ मा प्रकाशित

 इटहरी ।  मोरङको सुन्दरहरैँचामा हत्या गरिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।

मोरङ प्रहरीका अनुसार सुन्दरहरैँचा नगरपालिका–५ गार्खाली टोलकी ४५ वर्षीया मनमाया तामाङको शव आफ्नै घरभित्र भेटिएको हो ।

उनका अनुसार श्रीमतीको हत्या गरेर श्रीमान पदमबहादुर फरार बनेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनापछि भागिरहेका पदमबहादुरको प्रहरीले खोजी गरिरहेको छ ।

हत्या गरिएको अवस्थामा आमाको शव देखेपछि छोरी रत्ना तामाङले बिहीबार बिहान प्रहरीलाई खबर गरेकी हुन् ।

उनका अनुसार कम्मरदेखि माथिको भागमा कपडा थिएन । प्रहरी घटनास्थलमा पुग्दा शव रहेको कोठाको ढोका खुला थियो ।

‘हात र शरीरका विभिन्न भागमा चोटपटक रहेको अवस्थामा शव फेला परेको हो ।घटना बुधबार रातिकै हो ।’ पदमबहादुरले ‘आमा रक्सीले मातेर लडिरहेकी छ’ भन्दै राति ८ बजेतिर छोरी रत्नालाई फोन गरेका थिए ।

भोलिपल्ट बिहान हत्या भएको अवस्थामा आमाको शव भेटिएको र बुवा सम्पर्कविहीन बनेको भन्दै रत्नाले प्रहरीलाई फोन गरेकी हुन् । प्रहरीका अनुसार घरमा पदमबहादुर र मनमाया मात्रै बस्दै आएका थिए ।

छोरीको बिहे भइसकेको र छोरा वैदेशिक रोजगारीका लागि साउदीमा रहेको जानकारी प्रहरीले दिएको छ । प्रहरीका अनुसार पदमबहादुरले मदिरा सेवन गरेर यसअघि पनि बारम्बार पत्नी मनमायालाई कुटपिट गर्ने गरेको स्थानीयले बताएका छन् ।

इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको छ ।

दाहाल नेतृत्वकै टोलीले घटनाको थप अनुसन्धान अघि बढाएको छ । पोस्टमार्टमपछि घटनाका बारेमा थप प्रष्ट हुने प्रहरीको भनाइ छ ।