इटहरी । विभिन्न कन्सर्टहरुमा कलाकारहरुलाई बोलाएर पैसा नदिनु, ढिलो पैसा दिने समस्या त नेपाली कलाकारहरुले लामो समयदेखि भोगिरहेका छन् । हालसालै देशकै ठूला ब्याण्डहरुले आफूहरुलाई सोध्दै नसोधी आफ्नो नाम कन्सर्टको प्रचार सामाग्रीमा राखेको भन्दै विरोध जनाएका छन् ।
झापाको बुद्धशान्ती नगरपालिकामा आशीर्वाद प्रतिष्ठान सुधार केन्द्रको आयोजनामा हुन गइरहेको बुद्धशान्ती साँस्कृतिक तथा साँगीतिक महोत्सव २०८१ को पोस्टरमा राखिएका अनुप्रस्थ र द एक्स ब्याण्डले सामाजिक सञ्जालबाटै आयोजकको विरोध गरेका छन् । उनीहरुले महोत्सवमा सोध्दै नसोधी आफूहरुको नाम राखिनु स्क्याम (ठगी) भएको बताएका छन् ।
अनुप्रस्थ ब्याण्डले आफ्नो आधिकारीक फेसबुक पेजमार्फत् यसको विरोध गर्यो । उसले लेख्यो,
हामी कलाकारहरुसंग बूकिंग नै नभई फेसबुकबाट फोटो तानेर नसोधी जबरजस्ती promotion गर्न ठिक हो कि बेठिक ??
यो त Fraud भएनर ?? हामीलाई नै थाहा नपाउने गरि, हामी कलाकार र जनतालाई नै झुक्याउने र फेरी हाम्रै नाम बेची कार्यक्रम गर्ने ~
त्यसपछि द एक्स ब्याण्डका शिव मुखियाले पनि यो शत प्रतिशत स्क्याम भएको भन्दै विरोध जनाए ।
कलाकारहरुका अनुसार अनुप्रस्थ र द एक्स मात्र होइन, अन्य केही ब्याण्ड र कलाकारहरुको नामसमेत सोध्दै नसोधी राखेर प्रचार गरिएको थियो ।
विरोध भएपछि आयोजकहरुले भुलवश नाम समावेश भएकोमा माफी मागेका थिए ।
आयोजकले माफी माग्दै निमन्त्रणा गरेपनि अनुप्रस्थले भने यो कार्यक्रममा सहभागि नहुने जनाएको छ । यस्तै अझै पनि आयोजक कमिटिकै केही व्यक्तिले अपशब्द सहित गाली गरिरहेको जनाएको छ ।
महोत्सव असोज २० गतेबाट सुरु भएको छ । महोत्सवमा विभिन्न कलाकारहरुले आफ्नो प्रस्तुती दिइरहेका छन् ।